एजेन्सी । अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरस पुगेको छ । हालसम्म कोभिड –१९ मुक्त रहिआएको यो महादेशमा यो भाइरस हालै पुगेको हो ।
अन्टार्कटिकामा कोरोना पुगेको चिलीको सेनाले पुष्टि गरेको छ । महाद्विपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई कोरोना सङ्क्रमण देखिएको पुष्टि चिलियन सेनाले गरेको हो ।
त्यहाँ सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोना भाइरस फैलिन पुगेको छ ।
सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ ।
सेनाका अधिकारीहरूका अनुसार सङ्क्रमित सबैलाई उद्धार गरी चिली पु¥याइएको छ ।
बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको बिबिसीले जनाएको छ ।
सार्गेन्टो एल्डिआ नामक पानीजहाज गत २७ नोभेम्बरमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो । र, त्यो १० डिसेम्बरमा चिली फर्केको थियो ।
ताल्कावानोस्थित चिलीको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भयो ।
चिलीले अन्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गर्दै आएको छ ।
ल्याटिन अमेरिकी मुलुकमध्ये चिली कोरोनाबाट छैटौँ सबैभन्दा नराम्ररी प्रभावित मुलुक हो ।