काठमाडौं । विप्रषण आप्रवाह (रेमिट्यान्स) ११.२ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिना कात्तिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २.८ प्रतिशतले घटेको भए पनि कोभिड–१९ को प्रभाव विश्वव्यापीरुपमा बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढेको छ ।
आयतमा आएको संकुचनले आयात घटेकोले हुन्डी घटेको, वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको सरोकारवाला निकायको बुझाइ छ ।
कोभिड–१९ का कारण गएको चैतदेखि पाँच पहिनासम्म वैदेशिक रोजगारी अवरुद्ध हुँदा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ३७३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।