Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कवि सोझो गाउँले अब गीतकार पनि

कवि सोझो गाउँले अब गीतकार पनि

  • बुधवार, पौष १ २०७७

  • 1.5K
    SHARES

  • कवि सोझो गाउँले अब गीतकार पनि

    काठमाडौं । केटी : बालो जोबन सुम्प्याँ मैले बाला साइका हात,
    केटा : ज्यान गया लै मेरी सुवा छोड्न्याँ छैन साथ ।

    सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय भाषिक लवज लेखिएको गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको छ । संयोग शृङ्गार अर्थात् प्रेममा समर्पणको गहिरो भाव बोकेको गीत “बालो जोबन“ ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । यस गीतका शब्दहरु सुदूरपश्चिम जन्मथलो भएका युवा कवि सोझो गाउँलेले कोरेका हुन् । गीतमा सुदूरपश्चिमकै युवा गायक एवम् संगीतकार विष्णु भट्टले सङ्गीत भरेका छन् भने चौधरी (थारु) गीतकी गायिका अन्नु चौधरी र विष्णुले नै यसमा स्वर दिएका छन् ।

    130704916_391990535364100_7204470588944309006_n.jpg

    केटी : रानीलेक हिउँ पड्याको राई सल्लो ढल्याको
    साई तम्रा सासले मेरो धुकधुकी चल्याको ।
    केटा : पिपलबोट पिङ हाल्याको एक डोरी चुन्ड्याको
    सुवाका घाँटीउँदो मेरो परानी झुन्ड्याको ।

    लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् गीतको भिडियोमा पुराना तथा अनुभवी मानिएका याम गुरुङको निर्देशन र वीरेन्द्र भाट ’विपिन’को सम्पादन रहेको छ भने महेश महराले यसमा क्यामरा चलाएका छन् ।

    रुसको राजधानी मस्कोमा आयोजित ’प्रिन्सेस अफ दि युनिभर्स –२०१७’ की विजेता रक्षा थापा, २०१९ कि नेपाली मिस टिन प्रतिभा रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्तिबाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ ।

    आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्दै समय परिस्थिति अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएको गीतलाई आफूले लागानी गरेको निर्माता गिरीको भनाइ छ । नयाँ तथा प्रतिभावान् कलाकारलाई अवसर दिएको र उनीहरुले निकै मिहिनेतका साथ खटेर काम गरेकाले गीत स्रोेता–दर्शकले रुचाइदिने विश्वास उनको रहेको छ ।

    अहिलेसम्म कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो रेकर्ड भएको पहिलो गीत हो । “गीत त डायरीभरी छन् तर रेकर्ड भएको यो मेरो पहिलो गीत होस हेरौँ स्रोताहरुले कत्तिको रुचाउँछन्’’, उनकोे प्रतिक्रिया छ । सुदूरपश्चिममा बोलिने भाषा, शब्द र बिम्वलाई टिपेर आफूले गीत लेखेको र संगीत, स्वर र भिडियो पनि आफूलाई मन परेको आफ्नो गीतलाई न्याय भएको उनले बताए ।


    बुधवार, पौष १ २०७७०३:५०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij