काठमाडौं । उखु किसानहरुले चिनी मिलहरुबाट भुक्तानी नपाएपछि काठमाडौंमा आजदेखि आन्दोलन सुरु गर्दैछन् ।
उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा काठमाडौं आएका किसानहरुले आज बिहान ११ बजेदेखि माइतिघर मण्डलामा आन्दोलन थाल्ने भएका छन् ।
आन्दोलनमा एक हजार किसानको सहभागीता रहने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो । चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको कृषकहरुको गुनासो छ ।
गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।
सरकारी तथ्याङ्क अनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।