काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठकमा नजाने हुनुभएको छ । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा आउन नसक्ने जानकारी दिएको कांग्रेस स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक आइतबार विहान ९ बजेका लागि बोलाउनु भएको छ । यसअघि, त्यहाँ देउवा पनि सहभागि हुने बताइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको बताइएको छ । तर, देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेकाले त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नसक्ने सन्देश दिनुभएको छ ।
यसअघि शुक्रबार सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो । पार्टीले सरकारविरुद्ध आन्दोलन घोषण गरिहेका वेला ओलीलाई भेटेको भन्दै कांग्रेसभित्रै देउवाको विरोध भएको थियो ।