काठमाडौं । यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देन बिरामी छन् । निमोनिया पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
लिङ्देनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । यद्यपि, केही दिन अघि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले लिङ्देनको स्वास्थ्य अवस्थाबारे चासो देखाएका छन् । शुक्रबार बिहान मात्रै ओलीले लिङ्देनलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझेको बालुवाटार स्रोतले जनाएको छ । आलीले लिङ्देनको शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत गरेका छन् ।
ओलीले लिङ्देनका छोरा स्वाधीनसँग कुरा गर्दै ‘कुनै समस्या आए मलाई खबर गर्नु’, भनेको बालुवाटार स्रोतले जनाएको छ ।
हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।
ओली र लिङ्देन दुवै झापाबाट निर्वाचित सांसद हुन् । तत्कालिन एमालेसँग सहकार्य गरेरै लिङ्देनले चुनाव जितेका थिए ।
आजै बिहान मात्र लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका थिए ।