काठमाडौं । कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले वर्तमान सरकारको १०० दिने कार्यकाल समग्र रूपमा सफल हुन नसकेको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता महतले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए । उनले वर्तमान सरकारले कानुनको घोर उपेक्षा गरेको र विधिको शासनलाई कमजोर बनाएको गम्भीर आरोप समेत लगाएका छन्। पूर्वअर्थमन्त्री महतले सरकारले सुरुवाती सय दिनमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे। सुशासन कायम गर्ने र देशको अर्थतन्त्रलाई सही दिशा दिने सवालमा सरकार पूर्ण रूपमा चुकेको उनको भनाइ थियो।
नियमलाई मिचेर गरिएका निर्णयहरूले मुलुकमा थप अस्थिरता निम्त्याउने खतरा रहेको प्रति उनले सचेत गराए। उनले वर्तमान सरकारले कानुनको धज्जी उडाएको र प्रक्रियाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन् । । सरकारका कामकारबाहीले कानुनी राज्यको उपहास गरेको दाबी गर्दै नेता महतले सय दिने कार्यकालमा जनताले महसुस गर्ने गरी कुनै पनि सकारात्मक परिवर्तन हुन नसकेको जिकिर पनि गरेका छन् ।