काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता र पूर्व–नियोजित ‘सेटिङ’ भएको दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुरा गर्दै सांसद चौलागाईंले पार्टीको निर्वाचन आयोगसँग व्यवस्थापकीय अनुभवको चरम कमी देखिएको र निर्वाचनमा अनेकौँ भित्री खेलहरू खेलिएको सनसनीपूर्ण खुलासा गर्नुभएको हो।
सांसद चौलागाईंका अनुसार निर्वाचन प्रक्रियालाई नियोजित रूपमा रातिको समयमा सुरु गरिएको थियो। मतदानका क्रममा चरम लापरबाही भएको दाबी गर्दै उहाँले एकै व्यक्तिले चारदेखि पाँच पटकसम्म भोट हालेको समेत फेला परेको बताउनुभयो। निर्वाचन आयोगले स्थलगत रूपमै उम्मेदवारहरूलाई मतदान स्थलमा मतदाता संकलन गर्न लगाएर निर्वाचन गराएको भन्दै उहाँले सिंगो प्रक्रियाप्रति गम्भीर संशय व्यक्त गर्नुभयो। भोटिङ सिस्टममा प्राविधिक त्रुटि राखिएको र उम्मेदवारले आफ्नै प्रतिस्पर्धीहरूलाई समेत भोट हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको उहाँको आरोप छ।उ
हाँले डिजिटल भोटिङ मेसिनले मत ‘जम्प’ गराएको र मतपरिणामलाई योजनाबद्ध रूपमा तलमाथि पारिएको आशंका गर्नुभयो। कसलाई जिताउने र कसलाई हराउने भन्ने कुरा अगाडि नै निश्चित गरिएको दाबी गर्दै उहाँले निर्वाचनको वैधतामाथि नै प्रश्न उठाउनुभयो। नयाँ र डिजिटल राजनीतिको नारा लिएको रास्वपाभित्र केन्द्रीय तहकै सांसदबाट निर्वाचनको विश्वसनीयता र पारदर्शितामाथि यस्तो गम्भीर प्रश्न उठ्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।