काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालले प्रदेश सरकारहरूले ल्याएको आर्थिक वर्षको बजेट अत्यन्तै महत्वाकांक्षी र कार्यान्वयन हुन नसक्ने प्रकृतिको रहेको टिप्पणी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।पूर्वगभर्नर नेपालका अनुसार प्रदेश सरकारहरू आन्तरिक कर र राजस्व संकलन गर्न पूर्ण रूपमा असमर्थ देखिएका छन् । हालको प्रदेश बजेट केवल संघीय सरकारले दिने अनुदानमा मात्र आधारित रहेको उहाँको दाबी छ ।
स्थानीय स्तरमा आम्दानीका नयाँ स्रोतहरू पहिचान गर्न नसक्दा प्रदेशहरू आर्थिक रूपमा निकै कमजोर बनेको र हरेक कुरामा संघकै मुख ताक्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।ऐन कानुनमै प्रदेश र स्थानीय तह केन्द्रमा आश्रित हुने व्यवस्था रहेकाले गुड गभर्नान्सका लागि ती कानुनहरू तत्काल संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशहरूले कतिपय नीतिगत कुरामा औपचारिकता मात्र पूरा गरेको र प्रशासनिक रूपमा कर्मचारीहरूले पद मात्र ओगट्ने काम गरेको उहाँको आरोप छ ।आम्दानीका स्रोत नबढाई केन्द्रसँग जे कुरामा पनि निर्भर रहने प्रदेश तथा स्थानीय सरकारको हालको कार्यशैलीले समग्र संघीयताको औचित्यमाथि नै गम्भीर प्रश्न उठाएको पूर्वगभर्नर नेपालको निष्कर्ष छ ।