काठमाडौं । नेकपा एमालेका नेता ऐन महरले संसदीय कामकारबाहीलाई रचनात्मक रूपमा अघि बढाउन आफ्नो पार्टी सहमत भएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा बोल्दै उहाँले प्रतिपक्षको भूमिका सधैं विरोध मात्र गर्ने नभई आवश्यकताअनुसार संयमित भएर सत्तापक्षलाई सहयोग गर्ने समेत स्पष्ट पार्नुभयो । नेता महरले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तटबन्ध निर्माणमा अवरोध पु¥याउँदा समेत प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति दुःखद भएको टिप्पणी गर्नुभयो ।
राष्ट्रियता र सीमा सुरक्षा जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको फितलो अभिव्यक्ति आउनु र त्यसमा सत्तापक्षका सांसदहरूले ताली बजाउनु आपत्तिजनक रहेको भन्दै उहाँले आलोचना गर्नुभयो ।य सैगरी, प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निरीह देखिएको महरको आरोप छ ।
सर्वदलीय बैठकको सन्दर्भ जोड्दै महरले भन्नुभयो, “हामीले बैठकमा सभापति लामिछानेलाई ’तपाईँ प्रधानमन्त्री हुनुभएको भए हामीले जवाफका लागि यति दुःख पाउनु पर्दैनथ्यो होला’ भन्दा उहाँले कुनै प्रतिक्रिया नदिई केवल फिक्का मुस्कान मात्र दिनुभयो ।“ नेता महरले सरकार राष्ट्रियताका मुद्दामा गम्भीर नभएको आरोप समेत लगाउनुभयो ।