काठमाडौँ । पूर्वगृहमन्त्री सुदन गुरुङमाथि लागेका आरोपबारे छानबिन गर्न गठित समितिका अध्यक्ष एवं पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले आफूहरूले पूर्ण रूपमा निष्पक्ष अनुसन्धान गरी प्रमाणसहितको प्रतिवेदन सरकारलाई बुझाएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै अध्यक्ष भण्डारीले तथ्य र प्रमाणका आधारमा वस्तुगत रिपोर्ट तयार पारिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार समितिले गरेका सम्पूर्ण सूक्ष्म अनुसन्धानहरू निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिएका छन् । गुरुङको हामी नेपाल नामक संस्थाको आर्थिक लेनदेनदेखि विवादित व्यवसायी दीपक भट्टसँगको साँठगाँठका विषयमा समेत प्रत्यक्ष र सक्कली कागजातहरूलाई मुख्य आधार बनाएर प्रतिवेदन तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
छानबिनपछि गुरुङ पुनः गृहमन्त्रीमा बहाल हुने वा नहुने भन्ने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले यो कुरा स्वतन्त्र मन्त्रिपरिषद्को निर्णयमा भर पर्ने बताउनुभयो । आगामी राजनीतिक कदम वा निर्णयबारे अनुमानको भरमा अहिलै केही भन्न नसकिने भन्दै उहाँले स्पष्ट पार्नुभयो ।