काठमाडौं । अञ्जन श्रेष्ठ नेपालका एक स्थापित उद्योगी र व्यवसायी हुन्, उनी २३ वैशाख २०८३ मा नेपाल उद्योग वाणिज्य महासंघको २१ औँ अध्यक्षको जिम्मेवारीमा पुगेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान बमोजिम उनले चन्द्रप्रसाद ढकालपछि यो नेतृत्व सम्हाल्न पुगेका हुन् ।
अञ्जन श्रेष्ठको जन्म र व्यवसायी बन्ने यात्रा एउटा मिठो पारिवारिक विरासतबाट सुरु भएको हो । अञ्जन श्रेष्ठको व्यावसायिक यात्रा पोखराको एउटा सानो मिठाई पसलबाट सुरु हुन्छ । उनका बुबा गणेश बहादुर श्रेष्ठ र काका बुद्धि बहादुर श्रेष्ठले सन् १९७३ मा पोखरामा आफ्नो घरबाटै ’लक्ष्मी मिठाई भण्डार’ खोलेका थिए ।
उनको बाल्यकाल यही मिठाई व्यवसायको वरपर बित्यो। । सुरुमा हातले चलाउने सानो मेसिनबाट चकलेट र मिठाई बनाइन्थ्यो । माग बढ्दै गएपछि सन् १९७६ तिर स्वचालित मेसिनहरू ल्याइयो, जसले उनको परिवारको व्यापारलाई उद्योगमा बदल्न मद्दत गर्यो ।
श्रेष्ठले करिब ३० वर्षअघि पोखराको डेरी उद्योगबाट आफ्नो सक्रिय व्यावसायिक करिअर सुरु गरेका थिए । बुबा र काकाले बनाएको जगमा उनले नयाँ सोच र प्रविधि थपे । मिठाई र डेरीबाट सुरु भएको उनको यात्रा बिस्तारै सुजल फुड्स (चोकोफन), हुन्डाई गाडी, सिद्धि लक्ष्मी स्टिल्स र प्लाष्टिक उद्योगसम्म फैलियो ।
सामान्य मिठाई पसलबाट सुरु भएको त्यो सानो सपनालाई अहिले उनले नेपालकै प्रतिष्ठित लक्ष्मी ग्रुपमा परिणत गरेका छन् र हाल उनी देशकै सबैभन्दा ठूलो व्यावसायिक संगठन उद्योग वाणिज्य महासंघको अध्यक्षको नेतृत्वदायी भूमिकामा छन् ।
अञ्जन श्रेष्ठ एउटा यस्तो उद्यमी हुन् जसले परम्परागत पारिवारिक व्यवसायलाई आधुनिक औद्योगिक साम्राज्यमा बदल्न सफल भए । उनी व्यवसायसँगै झण्डै २२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् ।
उनले बुबा र काकाले पोखराको एउटा सानो मिठाई पसलबाट सुरु गरेको पारिवारिक व्यवसायलाई ’लक्ष्मी ग्रुप’ जस्तो विशाल औद्योगिक साम्राज्यमा परिणत गरे। यसबाट “जग सानो भए पनि भिजन ठूलो हुनुपर्छ“ भन्ने सिक्न सकिन्छ ।
उनले एकैपटक सफलता पाएका होइनन् । डेरी र मिठाईबाट सुरु गरेर अटोमोबाइल, स्टिल र पूर्वाधारसम्म पुग्न उनले झण्डै ३० वर्षको समय खर्चिएका छन् । व्यवसायमा ’रातारात सफलता’ भन्दा पनि निरन्तरको मेहनत ठूलो हुन्छ भन्ने उनी एक उदाहरण हुन् ।