Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अधिकांस उम्मेदवारले छुट्टै खाता नखोल्दा निर्वाचन खर्च पारदर्शितामा चुनौती, बढ्दो खर्चप्रति पनि प्रश्न, मितव्ययी चुनावी खर्चमा निर्वाचन आयोगको जोड (खासखबर)

अधिकांस उम्मेदवारले छुट्टै खाता नखोल्दा निर्वाचन खर्च पारदर्शितामा चुनौती, बढ्दो खर्चप्रति पनि प्रश्न, मितव्ययी चुनावी खर्चमा निर्वाचन आयोगको जोड (खासखबर)

  • मंगलवार, फाल्गुण ५ २०८२

  • 340
    SHARES

  • अधिकांस उम्मेदवारले छुट्टै खाता नखोल्दा निर्वाचन खर्च पारदर्शितामा चुनौती, बढ्दो खर्चप्रति पनि प्रश्न, मितव्ययी चुनावी खर्चमा निर्वाचन आयोगको जोड (खासखबर)

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।
    उम्मेदवारहरु हिजोदेखि औपचारिक रुपमै प्रचार प्रसारमा होमीएका छन् ।

    चुनावमा होमिएका उम्मेदवारहरुको प्रचार प्रसार खर्चिलो बनिरहेको छ ।यही खर्चलाई नियमन गर्दै पारदर्शिता कायम गर्न निर्वाचन आयोगले उम्मेदवारलाई अनिवार्य रूपमा छुट्टै बैंक खाता खोली सबै चुनावी आम्दानी तथा खर्च सोही खाताबाट गर्न निर्देशन दिएको थियो ।

    तर आयोगको पछिल्लो अनुगमन अनुसार अधिकांश उम्मेदवारले उक्त निर्देशन पूर्ण रूपमा पालना गरेका छैनन् । कतिपयले खाता नै नखोलेको, कतिपयले खोले पनि व्यवहारिक प्रयोग नगरेको पाइएको आयोगको भनाइ छ ।

    निर्वाचन आयोगले चुनावी खर्चलाई मितव्ययी र पारदर्शी बनाउन उम्मेदवारलाई नयाँ बैंक खाता खोली सबै चुनावी कारोबार त्यही खातामार्फत गर्न पटक–पटक निर्देशन दिए पनि धेरैजसो उम्मेदवारले उक्त निर्देशन अटेर गरिरहेका छन् । चन्दा संकलन तथा खर्च प्रयोजनका लागि उम्मेदवारलाई नयाँ खाता खोल्न आयोगले निर्देशन दिए पनि अहिलेसम्म ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये ६ सय ७१ जनाले मात्र खाता खोलेका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार यो कुल उम्मेदवारको करिव २० प्रतिशत हो ।


    निर्वाचन आयोगको अनुगमनमा उम्मेदवारहरूले नगद कारोबार र निजी खातामार्फत खर्च गरिरहेको पाइएको छ, जसले चुनावी खर्चको पारदर्शितामाथि प्रश्न उठाएको छ ।बैंक खाता खोलेर मात्र चुनावी खर्च गर्नुपर्ने यो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्वाचन आयोगले अनुगमन संयन्त्र पनि बनाएको छ ।
    निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन नयाँ बैंक खाता अनिवार्य गर्ने आयोगको निर्देशन उम्मेदवारले अटेर गरेपछि यसको कार्यान्वयन र कारबाही संयन्त्र प्रभावकारी छ कि छैन कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । तर, संयन्त्रले गम्भीर भएर अनुगमन गरिहेको सहायक प्रवक्ता पुनको भनाइ छ ।

    निर्वाचन आयोगका अनुसार नगद कारोबार बढी हुँदा खर्चको यथार्थ विवरण लुक्ने, सीमा भन्दा बढी खर्च हुने तथा कालोधन प्रयोग हुने जोखिम बढ्ने भएकाले पारदर्शिताका लागि नयाँ खाता अनिवार्य गरिएको हो ।

    तर उम्मेदवारहरू भने व्यवहारिक कठिनाइ, बैंकिङ पहुँचको समस्या तथा समय अभावका कारण निर्देशन पूर्णरूपमा कार्यान्वयन गर्न नसकेको बताउँदै आएका छन् । उनीहरुले आयोगले तोकेको खर्चको सीमा वा ‘सिलिङ’ अमिल्दो रहेको गुनासो पनि गरिरहेका छन् । यसरी निर्वाचन आयोगको निर्देशन बेवास्ता हुँदा निर्वाचन खर्च नियन्त्रण, पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको सरोकारवालाहरू बताउँछन् ।

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्चप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । निर्वाचन धनप्रदान भए त्यो निर्वाचन निर्वाचन हुन नसक्ने तर्क उहाँको छ ।निर्वाचन खर्चलाई पारदर्शी बनाउन निर्वाचन आयोगले बैंकिङ च्यानल अनिवार्य गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उम्मेदवारलाई ‘सेतो पैसा’ मात्र खर्च गर्न आग्रह गर्नुहुन्छ । कतिपयले बैंकमा खाता खोल्ने पैसा समेत नभएका उम्मेदवारका बारेमा प्रश्न उठाए पनि ‘कालो धन’ को प्रयोग रोक्न यो कदम चालिएको तर्क भण्डारीको छ ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा क्षेत्रगत हिसाबमा उम्मेदवारले खर्च गर्न पाउने सीमा फरक फरक छ । चुनावलाई पारदर्शी बनाउन आयोगले उम्मेदवारलाई चुनावी प्रयोजनको लागि छुट्टै बैंक खाता खोल्नुपर्ने, प्रतिनिधिसभा सदस्य ऐन बमोजिम खर्चको अन्तिम हिसाब बुझाएको ३५ दिनभित्र सो खाता बन्द गर्ने र रेकर्ड भने ६ वर्षसम्म रहने व्यवस्था गरेको छ । आयोगले निर्वाचन खर्चलाई पारदर्शी बनाउन तथा हिसाब किताब एउटै खाताबाट हुने गरी यस पटक पहिलोचोटि नयाँ खाता खोल्न उम्मेदवारलाई निर्देशन दिएको हो ।

    २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाताबाट लिने र खर्च गर्नुपर्ने आयोगको निर्देशन छ ।
    चुनावलाई कम खर्चिलो बनाउन, उम्मेदवारलाई मर्यादामा बाध्न र भड्किलो चुनाव नहोस भन्नका लागि आयोगले खर्चको विषयमा कडाइ गरिरहेको छ । त्यसैका लागि आयोगले उम्मेदवारमाथि बैंकिङ च्यानल अनिवार्य गरेको हो ।

    अबदेखि कडाइका साथ अनुगमन गर्ने र अटेरी गर्ने उम्मेदवारमाथि कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ ।
    त्यसैले,चुनावी खर्च पारदर्शी र मितव्ययी बनाउन गरिएको आयोगको प्रयास उम्मेदवारको सहकार्य बिना सफल हुन सक्दैन । निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचनका लागि सबै उम्मेदवारले आयोगको निर्देशन पालना गर्नु अपरिहार्य देखिन्छ ।


    मंगलवार, फाल्गुण ५ २०८२०८:३५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij