काठमाडौं । स्वस्थ्य खाना स्वस्थ्य जीवनको आधारभूत आवश्यकता हो । पर्याप्त निन्द्रा, स्वस्थ्य खाना, नियमित व्यायाम र सकारात्मक सोचले हामी धेरै रोगहरुबाट बच्न सक्छौं । तर,आजको यो समयमा तरकारी र फलफूलमा अत्यधिक प्रयोग हुने हानिकारक विषादीले मानिसहरु विभिन्न रोगको सिकार हुन पुगेका छन् ।
गएको पुषको ८ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काठमाडौंमा उत्पादित रायो सागमा ९९.०८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको थियो।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीका १५ पसलको १५ थरी तरकारी परीक्षण गर्दा रायो सागमा विषादीको मात्रा धेरै भेटिएको थियो । यसले बताउछ तपाई हामीले दैनिक सेवन गर्ने तरकारी कस्तो खाईरहेका छौ ?
कीटनाशक र विषादीले गराउने मृत्युमध्ये धेरैजसो निम्न र मध्य आय देशहरूमा हुने गरेको पाइएको छ । धेरै कीटनाशकहरु फसल जोगाउन प्रयोग गरिएता पनि अहिले आएर फलफूल छिटो पकाउन र तरकारीको उत्पादन मात्र बढाउन यसको प्रयोग हुने गर्छ । यी बिषादिहरुले प्रयोगकर्तामा मात्र नभएर कृषकहरु को स्वास्थलाई पनि धेरै असर गर्ने गरेको छ ।
बिषादीले हाम्रो स्वास्थ्यमा पारेको प्रभावलाई हामी बेवास्ता गरिरहेका छौ । अन्य समस्यालाई हामी महत्व दिईरहेका हुन्छौ तर बिषादीले निम्त्याएको आफैमाथि आएको स्वास्थय समस्यावारे हामीलाई जानकारी नै छैन वा लापरवाही गरिरहेका छौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ताजासागसब्जी र फलफुल खादाँ बिषादी मिसीएको छ भने त्यसले तत्कालीन र दिर्घकालीन स्वास्थ्य समस्या देखा पर्ने बताउनुहुन्छ । बिषादीको अत्यधिक प्रयोग भएको बस्तु उपभोग गरि सेवन गरे मस्तिष्क, मुटु, लगायतका अंगहरुलाई असर गरि क्यान्सर रोगको समेत जोखिम हुने उहाँको भनाई छ । बिषादीले प्रजनन स्वास्थ्यमा पनि धेरै नै नकरात्मक असर पार्ने गर्छ ।
हरेक दिन हामीले खाने तरकारी र फलफूलमा पाइने बिषादी रसायनहरुले क्यान्सर को सम्भावना धेरै नै हुने गरेको छ । बजारमा जताततै बिषादी मिसीएको तरकारी, फलफुल ,र माछामासु को बिक्री वितरण भईरहेको छ । यसवारे सम्वन्धीत निकाय केहिदिनदेखिने गरि काम गरे पनि फेरी विस्तारै सुस्ताउछ ।
ऐन कानुन बनाउदा कारवाही गर्ने उल्लेख भए पनि कार्यान्वयनमा कमी भएको र वेवास्ता गरिएकाले मापदण्ड भन्दा बढि बिषादी प्रयोग गर्ने र बजारमा खानै नमिल्ने गरि लैजानेहरुलाई अझै प्रोत्साहन मिलेको तर्क उहाँको छ ।
आम सर्वसाधरण कसरी सुरक्षित वा सचेत वन्ने त बिषादी भएको तरकारी र फलफूल सेवन गर्नबाट ? यसमा स्वंम आफै पनि सचेत हुनु जरुरी छ । हामीले आफ्नै खेतवारीमा तरकारी उब्जाउन छाड्यौ । बजारबाट किनेर खाँदा जे पनि खाईदिन्छौ । आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न डा बुढाथोकी आग्रह गर्नुहुन्छ ।
विषादीको बिक्री र बढ्दो प्रयोग हुँदा त्यसबारे उपभोक्तालाई सही ज्ञान नहुँदा त्यसको असर मानव स्वास्थ्यमा परिरहेको छ । कृषकले विषादीको सही प्रयोग गर्न नजान्दा देखिएका असर पनि धेरै छन् ।
विषादी प्रवेशमा रोकथामको उपाय लिएर सचेतना अभियान सञ्चालन गरिरहनुभएका हुमकान्त काफ्लेले समुदायस्तरमा भान्सामा विषादी रोकथामको चेत र जिम्मेवारीको भावना विकास गर्न पाइला चाल्नुपर्नेमा जोड दिनुहुन्छ । ठीक माध्यमबाट विषादी प्रयोग नगरी हेलचेक्र्याइँ गर्दा आम नेपाली उपभोक्ताको स्वास्थ्य खतरामा परेको उहाँको बुझाइ छ।
फलफूल र तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गराउनेबारे किसान र उपभोक्तामा सचेतना जगाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ।
बजारमा गएर तरकारी छामेर छोड्ने गर्दा पनि हातमा विषादी सर्ने गर्छ । पहिला आँखाले हेर्ने, मूल्य पनि बाहिरै बसेर सोध्ने र त्यसपछि बल्ल किन्नुपर्छ,’ काफ्ले भन्नुहुन्छ, ‘धेरै चम्किलो वस्तु किन्नु हुदैन । तरकारी टल्काउन पनि विषादीको प्रयोग भइरहेको छ । काउली, टमाटर र काँक्रा धेरै टल्किने हुन्छन्। त्यसमा अपवादबाहेक शतप्रतिशत विषादी रहने गरेको तर्क काफ्लेको छ ।
तरकारीमा कीरा मार्न र बढी फलाउन विषादी प्रयोग भइरहेको छ। कुन औषधि (विषादी) प्रयोग गरेपछि कति दिन पर्खिएर बजारमा लैजाने भन्ने ज्ञान धेरै नेपालीमा छैन । बजारका ताजा र आकर्षक चम्किला फलफूलमा मन्द विष नै हुन्छ । साथै माछा–मासुमा पनि विषादी हुने गरेको छ ।
तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकको भनाई छ । जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्बाध बेचबिखन र उपयोगले हामी दिनप्रतिदिन रोगको सिकार भईरहेका छौं ।
मानव स्वास्थयमा खेलवाड भईरहेको यो समयमा बिषादी नियन्त्रणका लागि सवैभन्दा पहिले त सम्वन्धीत निकायले काम कारवाही अगाडि बढाउनु पर्छ। त्यसैगरी, हामी उपभोक्ताले पनि खरिद गर्नु र सेवन गर्नु पहिले राम्रोसंग हेरेर मात्र उपभोग गर्नु जरुरी छ । किनभने आफ्नो स्वास्थ्य हामी आफैसंग छ । त्यसलाई राम्रो नराम्रो बनाउने हाम्रै सचेतनाले नै हो ।