काठमाडौं। नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि उठाएको हो। अपराजित एक मात्र टोली बनेको नेपालले सर्वाधिक १० अंक बटुल्यो।
ओमान ८ अंकमै सीमित भयो। यद्यपि, यी क्षेत्रबाट नेपाल र ओमानसँगै यूएईले पहिला नै विश्वकपमा स्थान बनाइसकेका थिए। समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक लिएर आएको नेपालले यूएई,ओमान र कतारलाई पराजित गरेको थियो।
नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए ।
बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे ।
आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।