काठमाडौं । सरकारले देशका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउन लागेको हो ।
ती स्थानीय तहमा एकसाथ पाँच, १० र १५ शैयाका पालिका स्तरका आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको छ । यस्तै सात वटा प्रदेशमा ५०–५० शैयाका सरुवा रोग अस्पतालहरुको पनि एकैसाथ निर्माण गर्न लागिएको छ ।
पालिका स्तरमा निर्माण हुन लागेका तीन सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि सरकारले जनाएको छ ।
यस्तै, सातवटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि प्रति अस्पताल आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, वाग्मती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।