Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लगातारको भारी बर्षाले आज रातभर जोखिम, सचेत रहन आग्रह (खास खवर)

लगातारको भारी बर्षाले आज रातभर जोखिम, सचेत रहन आग्रह (खास खवर)

प्रभावित क्षेत्रमा जनशक्ति परिचालन
  • शनिवार, आश्विन १८ २०८२

  • 971
    SHARES

  • लगातारको भारी बर्षाले आज रातभर जोखिम, सचेत रहन आग्रह (खास खवर)

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा गएराति देखिको जारी बर्षाले जनजीवन अस्तव्यस्त भएको छ । अहिले साँझ ८ बजेदेखि भोलि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको संभावना भएकाले थप जोखिम बढेको छ । लगातारको बर्षा रोकिने नभई अझ भारी बर्षा हुने भएपछि काठमाडौं उपत्यका सहित ४० जिल्लामा बाढीको उच्च जोखिम बढेको हो ।

    भारी बर्षाका कारण यातायात र हवाई उडान ठप्प भएका छन् । विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र अवस्थामा छन् । काठमाडौंका विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन् ।

    लगातारको बर्षाले अहिलेसम्म करिब १७ जिल्ला भएर बग्ने नदीले सर्तकर्ता तह पार गरेका छन् । अहिले भईरहेको बर्षा अझ बढ्ने पूर्वानुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागले अहिले साँझ देखि भोलि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताउनुहुन्छ ।

    महानिर्देशक जोशीले आज राति १० बजेदेखि भोलि विहान २ बजेसम्म बढी जोखिम हुने संभावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उहाँको आग्रह छ ।

    विभागका महानिर्देशक जोशीका अनुसार अविरल वर्षाका कारण काठमाडौं उपत्यका सहित ४० जिल्ला बाढीको उच्च जोखिममा छन् ।

    सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा पनि बाढीको अति उच्च जोखिम छ ।

    यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोखिमको सूचीमा राखिएको छ ।

    यसैगरि,आईतवार विहानदेखि यो पानी पर्ने प्रणाली विस्तारै पूर्वतिर सर्ने संम्भावना भएकाले त्यतातिर बढि सतर्कता अपनाउनुपर्ने महानिर्देशक जोशी बताउनुहुन्छ । सोमवार विहान पछि मात्र बर्षा मथ्थर हुनेछ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विपद् व्यवस्थापनका लागि तयारि अवस्थामा रहेको छ । प्राधिकरणका अनुसार अहिले देशका विभिन्न स्थानमा आँकलन गरिएको भन्दा बढि भारी बर्षा भईरहेकोे छ । विपद् प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह पनि गरिसकेको छ । । प्रवक्ता शान्ति महतका अनुसार अहिलेसम्म मानविय क्षति भएको छैन । राजमार्ग र बाटाहरु भने धेरै ठाँउमा अवरुद्ध भएका छन् ।

    अहिले काठमाडौंको बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्।

    डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी काठमाडौंका केहि बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ । सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर अवस्था बुझिरहेका छन् भने आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ ।

    देशका विभिन्न ठाउंमा सशस्त्र प्रहरी बलले जनचेतनामुलक माइकिङ तथा जोखिमयुक्त ठाउँमा गस्ती गरिरहेको छ ।

    प्रभावित क्षेत्रमा जनशक्ति परिचालन भएको विपद् प्राधिकरणले जनाएको छ । आवश्यक उपकरणसहित जनशक्ति परिचालन भईरहेका छन् ।

    यता, सरकारले विपद् व्यवस्थापनका लागि तयारि अवस्थामा रहेको जनाउदै आम नागरिकमा उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले सबै कर्मचारी र प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

    वर्षाले सडक, सिँचाइ र जलविद्युत् आयोजनामा क्षति पु¥याउने सम्भावना भएकाले गेट सञ्चालनमा विशेष ध्यान दिन र नदी–खोला किनारका उपकरण सुरक्षित स्थानमा सार्न मन्त्री घिसिङको निर्देशन छ ।

    सरकारले नागरिकहरूलाई वर्षासँग सम्बन्धित सूचनामा ध्यान दिन, अनावश्यक यात्रा नगर्न र नदी–खोला आसपासका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

    सुरक्षित बस्नका लागि सूचना दिदाँदिदै र आवश्यक सतर्कता अपनाउन भनिरहँदा पनि कतिपयले अटेर गरेको अवस्था छ । लगातारको बर्षा अझै बढ्ने हुँनाले जोखिमयुक्त क्षेत्रका बासिन्दा थप चनाखो हुन जरुरी छ ।

    भोली विहानसम्म अझ भारी बर्षा हुने मौसम विभागले भनिसकेको छ । आज रातभरको स्थितिलाई आँकलन गरि जनधनको क्षति हुन नदिन सरकार आवश्यक तयारीका साथ सतर्क हुनैपर्छ ।

    अघिल्ला सरकारहरु जस्तै यो नयाँ सरकार पनि विपद् व्यवस्थापनमा नचुकोस् । आमनागरिक पनि आफ्नो ठाँउ र क्षेत्रमा विपत्तीमा परेकाहरुलाई सहयोग र उद्धार कार्यमा जुटौं । जनधनको क्षति हुनबाट रोकौं ।

     

     

     

     

     

     


    शनिवार, आश्विन १८ २०८२०८:०४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij