Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वयस्कहरूका लागि स्वस्थ र सुखी जीवनयापनका १० सूत्र

वयस्कहरूका लागि स्वस्थ र सुखी जीवनयापनका १० सूत्र

  • रामप्रसाद सुवेदी
  • शुक्रवार, भाद्र २० २०८२

  • 675
    SHARES

  • वयस्कहरूका लागि स्वस्थ र सुखी जीवनयापनका १० सूत्र

    काठमाडौं। पूर्वीय दर्शनको मान्यता, भगवान् बुद्धका उपदेश, सद्गुरुजी, ओशो, योगी विकासानन्द, हरिदासजी, रमेश नेपाल लगायतका गुरुहरूको प्रवचन रस्वबचनको श्रवण एवम् अध्ययन तथा आफ्नो अनुभव समेतको विश्लेषणबाट व्यक्ति स्वस्थ र सुखी रहनका लागि हरेकले तलका कुराहरू मनन गरी ब्यवहारमा ल्याउन उपयुक्त हुने निष्कर्ष निस्कियो । कृपया शुरुमा यी कुरा पढेर मनन एवं विश्लेषण गर्नुहोस् । त्यसपछि कुनैकुनै बुँदा आफैँले परीक्षण गरी हेर्नुहोस् । उपयोगी लागे आफूले प्रयोग गर्नुहोस् र अरूलाई पनि प्रयोग गर्न सल्लाह दिनुहोस् ।

    १। हरेक दिन सकेसम्म बिहान ५ बजेभित्रै ९ब्रह्ममुहूर्त० मा उठ्ने बानी बसाल्नुहोस् ।सामान्यतः ६–८ घण्टा सुतेपछि तपाईँको निद्रा पुग्छ । ओछ्यानबाट उठ्दा अलार्म बिना स्वाभाविक रूपमा उठ्ने कोसिस गर्नुहोस् । यदि अलार्म लगाउनै पर्ने हो भने वैराग्य धुनजस्तो मधुर सङ्गीतको अलार्म लगाउनुहोस् ।

    २। बिहान बिउँझेपछि आँखा खोल्नुअघि १०–१५ मिनेट जति मनमनै आफूले अघिल्लो दिन दिनभर गरेका कामको समीक्षा गर्नुहोस् र आजको लागि योजना बनाउनुहोस् । त्यसपछि १० सेकेन्ड जति दुई हत्केला बिस्तारै रगडेर आँखामा लगाउनुहोस् र बिस्तारै आँखा खोल्नुहोस् । उठ्दा दायाँ कोल्टो फर्केर उठ्नुहोस् । दिनको सुरुआत मुस्कुराहटबाट गर्नुहोस् । यसमा गर्व गर्नुहोस् कि तपाई आज जीवितै उठ्ने भाग्यमानी मध्ये एक हुनहुन्छ ।

    ३। बिहान उठेर नित्यकर्म गरेपछि मन र शरीर दुवैको स्वस्थताको लागि कम्तीमा पन्ध्र मिनटदेखि आधा घण्टासम्म एकाग्रतामा रहने प्रयत्न गर्नुहोस् । यसका लागि ध्यानमा बस्ने, जप गर्ने वा प्रवचन सुन्ने जस्ता क्रियाकलापहरू गर्नुहोस् । यस समयमा उपयुक्त योगाभ्यास र प्राणायाम गर्नु उपयुक्त हुन्छ । यस पछिको करीव आधा घन्टा समय शारिरीक परिश्रम वा हिडाईमा लगाउनु उपयुक्त हुन्छ ।

    ४। बिहान उठ्ने बितिक्कै एक लिटरसम्म मनतातो पानी पिउनुहोस् । दिउसो पटक पटक थोरै थोरै पानी पिइरहने बानी राम्रो होइन । तिर्खा लागेका बेला पर्याप्त पानी पिउनुहोस् । खानासँग खाना निल्नका लागि आवश्यक पर्ने जति मात्र पानी घुट्की लाउनुहोस् । बेलुका धेरै पानी नपिउनुस् ताकि राती उठ्नुपर्ने नहोस् । पिउने पानी तामाको भाँडामा राख्ने गर्नु उपयुक्त हुन्छ ।

    ५। शरीरलाई सधैँ क्रियाशील राख्नुहोस् । दिनभरमा कम्तीमा ३–४ किलोमिटर ४–५ हजार पाइला हिँड्ने र कम्तीमा ३–४ घण्टा सिधा भएर बस्ने गर्नुहोस् । शरीरमा कुनै अस्वस्थता भएमा सकेसम्म प्राकृतिक आहार विहारले आफूभित्रै प्रतिरोध क्षमता विकास गरी स्वस्थ हुने प्रयत्न गर्नुहोस् । औषधि प्रयोग गर्नुपर्ने भएमा शुरुमा आयुर्वेदिक र होमियोपेथिक औषधि प्रयोग गर्नुहोस्, त्यसले निको नहुने अवस्थामा मात्र एलोपेथिक औषधि प्रयोग गर्नुहोस् ।

    ६। तपाईको सबभन्दा भरपर्दो डाक्टर वा गुरु तपाई आफै हो, तपाईको शरीरलाई केको आवश्यकता छ र के गर्दा राम्रो हुन्छ भन्ने कुरा डाक्टरलाई भन्दा बढी तपाईलाई नै थाहा हुन्छ । कुनै कुराप्रतिको आफ्नो मनको भावबाट शरीरको आवश्यकता वा सत्य थाहा पाउनुहोस् अनि दिमाग ९विवेक० को प्रयोग गरी उपयुक्त निर्णय लिनुहोस् ।

    ७।मानसिक स्वास्थ्य नै शरीर स्वस्थताको मूल कारक हो। मन व्यवस्थापनका लागि कम्तीमा १० दिनको आधारभूत विपश्यना ध्यान उपयोगी हुन्छ। आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो सुख हो। चिन्ता नलिनुहोस्, चिन्ताले छिट्टै चितामा पुर्याउँछ । हाँसो, आपसी कुराकानी र सकारात्मक सोचले चिन्ता कम हुन्छ। आफूले जुन काम गर्नुहुन्छ, इमानदारीपूर्वक गर्नुहोस् र त्यसैमा रमाउनुहोस्। आफूसँग जे छ त्यसमा ८० प्रतिशत सन्तुष्टि लिनुहोस् र थप प्रगतिका लागि २० प्रतिशत ठाउँ राख्नुहोस् ।

    ८। माया र घृणा दुवै दुखका कारण हुन् । त्यसैले कसैसँग पनि अति नजिकको मित्रता वा अति दुस्मनीको सम्बन्ध नबनाउनुहोस् । जीवन मिलन बिछोडको खेल हो । अति नजिकको सम्बन्धले छुट्टिँदा कठिन हुन्छ भने अति दुस्मनीको सम्बन्धले सँगै बस्दा वा पछि भेट्नुपर्दा असहज हुन्छ । अरूसँग व्यवहार गर्दा आफूलाई उसको ठाउँमा राखेर सोच्नुहोस्।

    ९। शाकाहारी भोजनमा जोड दिनुहोस् । बेलुकाको खाना ढिलोमा ८ बजेसम्म खाइसक्नुहोस् । घरीघरी खाइराख्ने बानी नगर्नुहोस् । खाने समय र सुत्ने समयबिच २ घण्टाको फरक पार्नु राम्रो हुन्छ। बेलुका हल्का खाना खानुहोस् । खानापछि ५० पाईलाजति हिड्नुहोस् । बेलुका र बिहानको खानाबिच १२ देखि १६ घण्टाको फरक (उपवास) हुनु राम्रो हुन्छ ।

    १०। बेलुका सामान्यतया १० बजेभित्र सुतिसक्नुहोस् । उत्तर सिरानी गरेर नसुत्नुहोस् । सुत्दा देब्रे कोल्टो फर्केर सुत्नुहोस् । निदाउनुअघि सकारात्मक कुरा सोच्नुहोस् । निद्रा लाग्न कठिन भए मधुर सङ्गीत वा प्रवचन सुन्दै सुत्नुहोस् ताकि कति बेला निदाएँ भन्ने पत्तै नहोस् ।

    माथिका कुराहरूलाई आदर्शका रूपमा मनमा राखेर बानीको रूपमा अपनाउने प्रयत्न गर्नुभयो भने तपाईको जीवन अवश्य स्वस्थ र सुखी हुनेछ ।


    शुक्रवार, भाद्र २० २०८२०३:३२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij