काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी युएसए २०२५–२७) कार्यकालका लागि दिपक भण्डारीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारी जुलाई २४ मा दर्ता गराउनु भएको हो ।
भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “एनआरएनए सन् २००३ मा विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था स्वरूप स्थापना गरिएको हो। तर आज यो संस्था केही व्यक्तिहरूका व्यक्तिगत स्वार्थका कारण विवादमा तानिएको छ।”
उहाँले आइसीसीमा देखिएको विवाद समाधान हुने विश्वासका साथ एनआरएनए अभियानमा आफू जोडिएको बताउनु भएको छ । यद्यपि, पछिल्ला घटनाक्रमहरूले विवाद समाधान नभई अझ जटिल बन्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
जुलाई २६–२७ र अगस्ट १६–१७ मा हुने भनिएको निर्वाचन प्रक्रिया एउटै बनाएर संस्थालाई एकताबद्ध बनाउने प्रयास हुनुपर्ने भएपनि, त्यो सम्भव नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
भण्डारीले नेपाल सरकार, एनआरएनए आइसीसी, सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) तथा सम्बन्धित पक्षलाई संस्थाको एकतालाई प्रभावित पार्ने गतिविधिहरू तुरुन्त रोक्न र एनआरएनएको मूल मर्मअनुसार अघि बढ्न आग्रह गर्नुभएको छ ।