काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले नेपालको संगठीत र सघन प्रयासहरूको परिणामस्वरूप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने बताउनुभयो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्ययोजनाहरू दराजमा थन्काउन नभै कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको बताउँदै, अर्थमन्त्री पौडेलले ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताउनुभयो ।
यथाशीघ्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले ग्रे लिस्ट बाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा आएको, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त रि रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको अर्थमन्त्रीको भनाइ छ।