काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री र गठबन्धनको आवश्यकताअनुसार मन्त्रीहरु हेरफेर हुने बताउनुभएको छ ।
मन्त्रीहरुले एक वर्षको अवधिमा गरेका कामहरुका आधारमा योग्यलाई राख्ने र काम गर्न नसक्ने र घुस लेनदेनका विवादमा फसेकालाई हटाउने नेता थापाको भनाइ छ ।
मन्त्रीहरुले उच्च नैतिकता र छविका साथ काम गर्नुपर्नेमा केहिले गलत कदम चालेको देखिएको बताउँदै उहाँले त्यस्लाई मन्त्री पदमा राख्न जरुरी नभएको प्रधानमन्त्रीलाई पनि महसुस भएकाले यसमा पूरा अधिकार प्रधानमन्त्रीको हुने नेता थापाले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्री ओलीको मूख्य उदेश्य नै कुनै पनि मन्त्रीहरु विवादमा नपरुनु र जनतालाई केन्द्रमा राखेर काम गरुन् भन्नु रहेको बताउनुभयो ।
यस्तै अर्को प्रसंगमा नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहकारी ठगरुको, भ्रष्टहरुको र निर्लज्ज व्यक्तिहरुको झुण्ड रहेको टिप्पणी गर्नुभएको छ ।
सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै थापाले अहिले रास्वपाले सहकारी ठगीमाथि पर्दा हाल्ने कोशीस गरिरहेको आरोप लगाउनुभयो । प्रहरी हिरासतमा रहेका सभापति लामिछानेलाई बाहिर बादर नचाउने काम बन्द गर्न नेता थापाको सुझाव रहेको छ ।