काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मन्त्री फेरबदल गर्ने बारेमा पार्टीमा आधिकारिक छलफल अहिलेसम्म नभएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवाले जतिबेला चाहनुहुन्छ त्यहि बेला मन्त्रीपरिषद् पुनर्गठन हुन सक्ने नेता घिमिरेको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले मन्त्रीहरु फेरबदल हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउँदै भ्रष्टाचारमा प्रमाणसहित जो–जो देखिएका छन् ती मन्त्रीबाहेक अरुलाई फेर्ने कुरा अहिले तत्कालै नहुने स्पष्ट पार्नुभयो ।
एक वर्षमा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै यतिबेला चौतर्फि आलोचना भइरहेको बेला मन्त्रीहरू पनि एकपछि अर्को विवादमा पर्दै आइरहेका छन् । यहि कारण पनि प्रधानमन्त्री ओली केही साता यता मन्त्रिपरिषद् पुनर्गठनमा लाग्नुभएको छ भने कांग्रेस सभापति शेरबहादुर देउवाको अनिच्छाले रोकिएको छ ।
यस्तै अर्को प्रंसगमा नेता घिमिरेले वर्तमान सरकार सहमति अनुसारै चलिरहेकाले आगामी निर्वाचनमै रहने कुरामा विश्वास दिलाउनुभयो । प्रतिपक्षले सरकार धेरै टिक्दैन भन्दै हिड्नु उनिहरुको सरकार बाहिर रहनुपरेको छट्पटाहटबाहेक अरु नभएको पनि उहाँको भनाइ छ ।