काठमाडौं। सिमलताल बस दुर्घटनाको आज ठिक एकवर्ष पूरा भएको छ। गतवर्ष २०८१ साल असार २८ गते बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका २९स्थीत सिमलतालमा सडक माथीबाट आएको पहिरोले ६२ जना सवार दुईवटा रात्रीबस त्रिशूलीमा खसाएको थियो।
काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलोमिटर टाढा पर्ने सिमलतालको सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए।
बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीन जना यात्रुले भने आफै पौडिएर ज्यान जोगाएका थिए। बाँकी सबै बेपत्ता थिए। पछी खोज तथा उद्दारका क्रममा २० जनाको शव भेटिएको थियो भने त्यसमध्ये १९ जना यात्रु नै रहेको पुष्टि भएको थियो। बाँकी ४० जना यात्रु अझै बेपत्ता नै छन् भने सँगै बगेका दुवैबस पनि अहिलेसम्म भेटिएका छैनन्।
नारायणगढ–मुग्लिन सडक खण्डमा भएको उक्त घटनापछी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत भारतबाट विशेष टोलीसहित खोजी गर्दा पनि बेपत्ता भएका यात्रु र बस फेला पर्न सकेनन्।
अप्रत्यासित र अकल्पनिय रुपमा घटेको उक्त घटनाले अपुरणीय क्षति सँगै ठुलो पाठ सिकाएको चितवन प्रहरीको प्रतिक्रिया छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले कहालिलाग्दो उक्त घटनाबाट ठुलो पाठ सिकेर त्यसपछी विपदका घटनाका लागी अलर्टमा रहेको बताउनुहुन्छ।
अप्रत्यासित उक्त घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको थियो।
त्यस्तै विपद् प्रतिकार्यका लागी आवश्यक जनशक्तिसँगै पूर्वतयारी गर्न, पुर्वाधारको जोहो गर्न र जनचेतना जगाउँदै सरोकारवाला निकायलाई पनि सतर्क र सचेत बनाउँदै अलर्ट रहन सुझाव दिएको थियो। कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री रमेश लेखकले पनि प्रतिवेदन अक्षरशःकार्यान्वयन गर्ने प्रतिवद्धता बताउनुभएको थियो।
तर त्यसपछी पनि विभिन्न स्थानमा भएका यस्तै अप्रत्यासित घटनाहरुमा सयौंले ज्यान गुमाउनु परेकोे छ। गतवर्ष असोजमा आएको बाढीले राजधानी र आसपासमै झण्डै २४० जनाले ज्यान गुमाएका थिए भने हालै रसुवामा आएको विपक्तिमा ठुलो धनजनको क्षति भएको छ। १९ जना बेपत्ता छन् भने ११ जनाको शब फेला परेको छ।
यसपाटोमा हेर्दा सरकार विपद प्रतिकार्य र पूर्वतयारीमा निरन्तर चुकेको देखिन्छ। पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले सरकारले जिम्मेवारपूर्ण रुपमा विपद प्रतिकार्यका लागी योजना र पूर्वतयारीलाई प्राथमिकतामा नराख्दा समस्या आएको बताउनुहुन्छ।
व्यक्तिले मात्रै चाहेर यस्ता समस्यासँग जुध्न नसकिने भएकोले सरकार नै यसमा जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड छ। जतिबेला विपद आउँछ त्यतिबेला सम्झीने र अन्य समयमा कानमा तेल हालेर बस्ने तथा हरेक कुरामा राजनैतिक खिचातानी मिसिँदा यस्ता समस्या दोहोरिने गरेको बताउनुहुन्छ।
यस्तै विज्ञहरुले पनि यस्ता विपदका घटना न्युनिकरण गर्न र घटनाबाट क्षति कम गर्न पूर्वतयारीमा लाग्नुपर्नेमा सरकार नै चुक्दै आएको बताउछन्। वातावरणविद् बसन्तराज अधिकारीले विपद व्यवस्थापनका लागी जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा तिनै तहका सरकार पटकपटक चुक्दै आएको बताउनुहुन्छ।
विज्ञहरुसँग बसेर आवश्यक रणनीति बनाउन, पूर्वाधार विकास गर्न, सुझाव मनन गर्न चुक्दा हालैको रसुवा विपदजस्ता घटनाबाट ठुलो क्षति बेहोर्नुपरेको उहाँको तर्क छ । यस्तै प्रविधीको जमानामा पनि सरकार पुर्वाधार विकासको मामलामा सरकार निरन्तर चुकिरहेको उहाँको टिप्पणी छ।
विपदका लागी पूर्वसुचना प्रणाली महत्वपूर्ण रहेकोले देशिय तथा अन्तरदेशिय रुपमा पनि यसको विकासमा जुटुनुपर्ने उहाँको सुझाव छ। नेपालले अहिलेसम्म बाढीमा अलिकती पूर्वसुचना प्रणाली विकास गरेपनि पहिरो,हिमताल विस्फोटजस्ता घटनामा ध्यान दिन नसक्दा गतवर्ष सिमलतालमा र अहिले रसुवामा क्षति बेहोर्नु परेकोले यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
भनिन्छ कुनैपनि विपद बाजा बजाएर आउँदैन, त्यसको प्रतिकार्य तथा व्यबस्थापनका लागी पूर्वतयारी आवश्यक छ तर सरकार यहि मामलामा पटकपटक चुक्दै आएको छ। अर्कातिर बिना अध्ययन विकासका नाममा भैरहेका गतिबिधीले ठुला विपद निम्त्याउने गरेका छन्।
सिमलताल दुर्घटना पनि दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग–डिजाइन बिना नै ग्रामीण सडक खनिएकोले वर्षा हुनासाथ भेलबाढी आउँदा बस बगाएको आशय सहितको निष्कर्ष पनि कार्यदल निकालेको थियो।
तसर्थ राज्यले सुरुमा त विपदका घटना हुनै नदिन के गर्नुपर्छ भन्नेमा ध्यान दिन जरुरी छ भने बिना सुचना आउने विपदले ठुलो क्षति बेहोर्नुपर्ने भएकोले यसको व्यवस्थापन, प्रतिकार्यका लागी पूर्वतयारी र पूर्वाधार निर्माणमा आजैदेखी लाग्न जरुरी छ।