Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको प्रमुख प्रतिपक्षीको टिप्पणी, एकात्मक मानसिकताले संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको तर्क (खास खबर)

बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको प्रमुख प्रतिपक्षीको टिप्पणी, एकात्मक मानसिकताले संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको तर्क (खास खबर)

  • सोमवार, जेठ २६ २०८२

  • 709
    SHARES

  • बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको प्रमुख प्रतिपक्षीको टिप्पणी, एकात्मक मानसिकताले संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको तर्क (खास खबर)

    काठमाडौं । सरकारले यहि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आर्थिक वर्ष ०८२-०८३ को बजेट ल्याएको छ । संसद्मा भएको अवरोधले भने बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । तर विभिन्न कार्यक्रम मार्फत सरकारले ल्याएको बजेटमाथि टिकाटिप्पणी भईरहेका छन् । ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२-०८३ को बजेट’ बारे आज छलफल भयो ।

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको टिप्पणी गर्नुहुन्छ । बजेटले तल्लो तहका जनताको भावना सम्बोधन गर्नुको साटो उपेक्षा गरेको तर्क पुनको छ । बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै आपत्ति जनाईएको छ ।

    अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उहाँको भनाई छ । संघीयताको परिकल्पना गर्नेहरु नै कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको भन्दै कार्यान्वयन पक्षमा देखिएको अनुदार प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिईएको छ ।

    संघले प्रदेश र स्थानीय तहलाई विश्वास नगर्ने र संघप्रति प्रदेश र स्थानीय तहले विश्वास गर्न नसक्ने अवस्था विद्यमान रहेको तर्क पनि बजेटमाथिको छलफलमा गरिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुहुन्छ ।

    संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटका सन्दर्भमा उहाँले संघीय सरकारमा बसेकाहरूको मानसिकता नै एकात्मक रहेको भन्दै यसले संघीयतालाई नोक्सानी गरिरहेको बताउनु भएको हो । अहिलेको सरकारमा रहेका मन्त्रीहरुको जिल्लामा योजना र बजेटको खोलो बगेको भन्दै यादवले अरू ठाउँमा बजेटको सन्तुलन नरहेको टिप्पणी गर्नुहुन्छ ।

    प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराई स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताउनहुन्छ । अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्नेमा उहाँको जोड छ । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको भनाई पनि भट्टराईको छ ।

    काठमाडौं महानगरका उपमेयर सुनिता डंगोलले नेपालको संविधानले वाहल कर एकल अधिकारको रुपमा स्थानीय सरकारको भनिए पनि संघीय सरकारले लिईरहेको भन्दै स्थानिय सरकारको राजस्वको अवसरलाई असर पारेको तर्क गर्नुहुन्छ ।

    नेकपा माओवादी केन्द्रले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटाएको आरोप पनि लगाएको छ । समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको तर्क प्रमुख प्रतिपक्षीको छ ।

     


    सोमवार, जेठ २६ २०८२०७:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij