काठमाडौं। पाकिस्तानमा भारतले हवाई हमला गरेको छ। जम्मू–कश्मीरको पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका ९ ’आतंकवादी अड्डाहरू’मा हवाई हमला गरेको हो।
मंगलबार राति साढे १ बजे ’अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ,’यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।’
पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार बहावलपुरमा भएको हवाई आक्रमणपछि ३० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार जैश–ए–मोहम्मदका ४, लश्कर–ए–तैयबाका ३ र हिजबुल मुजाहिदीनका २ आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो।
पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए । भारतीय प्रधानमन्त्री मोदीले रातभर अपरेशन सिन्दूरको निगरानी गरिरहेका थिए ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।