काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले नेपाली कांग्रेस र एमालेबीच कुनै पनि मतभेद नभएको बताउनुभएको छ ।
पछिल्लो समयमा दुई पार्टीका नेताहरुको सार्वजनिक अभिव्यक्ति र प्रतिक्रियापछि दलमा असन्तुष्टि र दरार आएको हल्लाको खण्डन गर्दै नेता बडालले विचार राख्न पाउनु सबैको स्वतन्त्रता भएकाले गठबन्धनमा भने कुनै पनि समस्या नआएको दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमापत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नियमित छलफल र भेटघाट भइरहेको बताउँदै बाहिर जति हल्ला आए पनि गठबन्धनमा अलिकति पनि दरार नआएको र नआउने पनि स्पष्ट पार्नुभयो ।
प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयू धेरै छैन, छिट्टै ढल्छ र एमाले र कांग्रेसबीच असहमति बढ्यो भनेर बोल्दै हिड्नु उहाँको छट्पटहाट बाहेक अरु नभएको पनि नेता बडालको भनाइ छ ।
प्रचण्डले जे बोल्दा आफूलाई खुशी मिल्छ त्यहि बोल्दै हिड्ने र जनतालाई भाड्न खोजिरहेको पनि नेता बडालको आरोप रहेको छ । सरकार ढाल्ने प्रचण्डको दाउ कुनै पनि हालतमा सफल हुन नसक्ने बताउँदै उहाँले वर्तमान सरकार नै आगामी निर्वाचनसम्म रहनेमा विश्वास व्यक्त गर्नुभयो ।