काठमाडौं । नेकपा माओवादीका नेता पूर्णबहादुर घर्तीले वर्तमान सरकारको आयू धेरै लामो नभएको बताउनुभएको छ । सरकार पूर्णरुपमा असफल भइसकेकाले अब छिट्टै ढल्ने निश्चित भएको नेता घर्तीको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घर्तीले दुई तिहाइको शक्तीशाली मानिएको कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारलाई ढाल्न विपक्षी दलले कसरत गर्नै नपर्ने भएको दाबी गर्दै आफ्नै गतिविधीका कारण सरकार ढल्ने स्पष्ट पार्नुभयो ।
यस्तै उहाँले जनताका आस्था र विश्वासहरु सबै निरासामा बदलिएको र जनतामा वितृष्णा झन् बढाइरहेको सरकारले आफू र आफ्नाबाहेक अरुको लागि नसोच्ने आरोप लगाउनुभयो ।
आफूहरु अहिले सरकार ढालेर सत्तामा जाने कुनै पनि लोभमा नरहेको स्पष्ट पार्दै उहाँले बाहिर माओवादीले सरकार ढाल्न चलखेल गर्दैछ भन्नेलगायतका सार्वजनिक हल्लामा कुनै पनि सत्यता नभएको प्रष्ट पार्नुभयो ।
आफूहरु यतिबेला जनताको माझ गएर कमिकमजोरीलाई सच्याउँदै अगाडि बढ्ने र आगामी निर्वाचनमा देखाउने अभियानमा रहेको नेता घर्तीको भनाइ छ ।
सरकारका हरेक गलत कार्यको विरोध गर्दै आइरहेको आफ्नो दलले आगामी दिनमा पनि जनताको पक्षमा र सरकारको गलत कदमको विपक्षमा आवाज शसक्तरुपमा उठाइरहने नेता घर्तीले बताउनुभयो ।