काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफूहरुको आन्दोलन गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि भएको बताउनुभएको छ ।
केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलन हिजोदेखि सकिएको छ । ३० गतेसम्म गर्ने भनिएको आन्दोलन विशेष कारणले २८ गते सकाएको अध्यक्ष केसीले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले गणतन्त्र नेपाली जनताले ठुलो संघर्ष र बलिदानपछि स्थापित गरेको बताउँदै यसलाई ध्वस्त पार्ने षड्यन्त्रलाई परास्त गर्न आफूहरु निरन्तर संघर्षमा रहने स्पष्ट पार्नुभयो ।
संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठुलो बोझ बनेकोले यसको खारेजी जरुरी रहेको बताउँदै उहाँले गणतन्त्र जोगाउन पनि संघीयता खारेज गनुपर्नेमा जोड दिनुभयो ।
संघीयता व्यावहारिक रूपमा असफल भइसकेकाले देश र जनताको हितका लागि संघीयता खारेजी अनिवार्य अध्यक्ष केसीले दोहो¥याउनुभयो ।
यस्तै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन र चैत १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनको गम्भीर संकेतका रूपमा उल्लेख गर्नुभएको छ । उहाँले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबिच सहकार्यको आवश्यकता औँलयाउनुभएको छ ।