काठमाडौं । एनसि एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यको १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनसि एग्रो टेकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यही चैत्र ०३ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालयमा कार्यक्रमको आयोजना गरी एनसि एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
काठमाण्डौंको टोखामा रहेको एनसी एग्रो टेक इण्ड्रष्ट्रिजको रजिष्टर्ड २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
कम्पनीले कृषि उत्पादन भई खेर गएका सामाग्रीको स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने तथा औषधीय महत्व बोकेका च्याउलाई प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप तथा क्यान मशरुम बनाउँदै आएको छ । कच्चा पदार्थ उत्पादन गरी नेपालभरीका किसान तथा ठूला व्यवसायिक कृषकहरुलाई बिक्री वितरण गर्दै आइरहेको छ । यस कम्पनीले च्याउ टिपिसकेपछि बाँकि रहेको कम्पोष्ट तथा बाँस प्रशोधन गर्दा निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरण मैत्री संरचनाको समेत निर्माण गरेको छ ।
त्यस्तै च्याउतर्फको र बाँसका सिन्काको उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र अन्य औषधीजन्य च्याउहरुको उत्पादन गरी सो पश्चात् खेर जाने फोहोरलाई समेत उच्च गुणस्तरका कोइलामा रुपान्तरण गरी बिक्री÷वितरण समेत गर्दै आइरहेको छ ।