काठमाडौं । १८ वर्षमुनिका कुनै पनि बालबालिकाले कानुन उल्लंघन वा अपराध गरे जेल नपठाई बालसुधार गृहमा राखिन्छ । नेपालका बालसुधार गृहहरु सुरक्षित र व्यवस्थित नहुँदा बेलाबेला विभिन्न घटनाक्रम भईराखेका छन् ।
होलीको विषयमा दुईपक्षबीच भएको झडपले बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा शनिबार दिनभर तनाव भयो । त्यहाँको गेट तोडेर निस्किएका बालबन्दीहरुले प्रहरीमाथि कुटपिट, पसलमा लुटपाट र स्थानीयको परालको टौवामा आगजनी गरे ।
यसअघि २०८० साल भदौमा भक्तपुरको मध्यपुरथिमीस्थित बालसुधार गृहमा १८ वर्षीय कमल बस्नेतको ज्वरोका कारण मृत्यु भएपछि त्यहाँ तोडफोड भएको थियो र २ सय १९ जना बालकहरू सुधार गृहबाटै बाहिर निस्किएका थिए । प्रहरीसँग ठूलो मुठभेड भएको थियो ।
त्यसपछि वीरगन्जको बालसुधार गृहमा पनि प्रदर्शन र तोडफोडको घटना भएको थियो । हालै विराटनगरको बालसुधार गृहमा झडप भएको थियो र १४ जनालाई स्थानान्तरण गर्नुपरेको छ । यस्ता घटनाक्रमबाट सरकारले पाठ सिकेर बाल सुधार गृहलाई व्यवस्थित बनाउनुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन ।
सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना–ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन् । सांसद रोशन कार्कीले सरकारले बाल सुधारगृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ ? भन्दै प्रश्न गर्नुहुन्छ ।
महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सम्बन्धित पदाधिकारीलाई बोलाएर निर्देशन दिएको तर सरकारले कुनै पनि प्रकारको ध्यान नदिएको गुनासो गरिएको छ । सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखिएकाले झगडा र तनाव हुने गरेको बताउनुहुन्छ । त्यसैले उनीहरुलाई छुट्टाछुट्टै राख्ने व्यवस्थाका लागि उहाँले माग गर्नुभयो ।
बाल सुधारका निम्ति भएका अभ्यासहरु कतिपय अवस्थामा कानून र ऐन अनुसार भएका छैनन् । बाल सुधार गृहभित्रका व्यवहार बालमैत्री हुन सकेका छैनन् । बालबालिकाको मनोसामाजिक विकासका दृष्टिकोणको मेल खाएको छैन ।
अर्कोतर्फ बाल सुधार गृहमा जुन किसिमको चाप छ, त्यो थेग्न सक्ने क्षमतामा बाल सुधार गृहहरुसँग छैन । त्यसैले बाल सुधार गृहहरुमा समस्या देखिइरहेको हो । चार गुणासम्म बढी क्षमताभन्दा बालक कोचेर बालसुधार गृहमा राख्नु भनेको वास्तवमा यातना दिनु हो । अर्का सांसद सुर्य प्रसाद ढकालले पनि बाल सुधार गृहलाई व्यवस्थित गर्न र शान्ति सुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । तत्काल कानुन सुधार गर्नुपर्नेमा उहाँको जोड छ ।
क्षमताभन्दा बढी संख्याका बालकहरू सुधार गृहमा हुँदा उनीहरूको बसाइ नै सहज छैन । त्यहाँ शिक्षा र स्वास्थ्यको पनि कुनै गतिलो प्रबन्ध छैन । उमेर पुगिसकेका व्यक्ति पनि बाल सुधार गृहमै कोचिएका पनि छन्, जसले आफूभन्दा सानालाई आपराधिक बनाइरहेका पनि देखिन्छ । बालसुधार गृह केवल बनाउनका लागि बनाइएजस्तो गरी बनाएको छ । त्यसपछिका कर्तव्य पूरा गर्न राज्य हदैसम्म निरीह र अनुत्तरदायी भएको छ । त्यसैको परिणाम सुधार गृह अहिले आपराधिक थलो भएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समग्र कारागारको स्थितिबारे बताउदै यो देशव्यापी समस्या भएको र यसबारे सरकारलाई जानकारी गराउने र निरीक्षणका लागि समिति गठन गर्ने जानकारी दिनुहुन्छ ।
बाल सुधार गृह र जेल दुई वटा विल्कुलै फरक अवधारणा हुन् । तर, दुवैको सञ्चालन एउटै अवधारणाबाट भइरहेको छ । बाल सुधार गृह संरक्षण केन्द्र हो, सुधार केन्द्र हो । जेल सुधार र सजाय केन्द्र हो । त्यसैले जेल र सुधार गृहमा दुई वटा फरक दृष्टिकोणलाई अभ्यास गर्नुपर्ने त्यो हुन सकेको छैन । परिणाम बालबालिकाहरुमा जुन किसिमको सुधार आउनुपर्ने त्यो आएको छैन र बालबालिकामा विद्रोहको भावना जन्मिएको छ । त्यसलाई सम्हाल्न नसक्दा आज देशभरि सुधार गृहमा तनावको स्थिति देखिएको छ । त्यसैले बाल सुधार गृहलाई यथाशिघ्र व्यवस्थित गर्न राज्यको ध्यान जान जरुरी छ ।