काठमाडौँ – सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता साझेदारीका लागि प्रस्ताव गरेको खबरले नेपालको राजनीतिक माहोल एकाएक तातेको छ।
प्रधानमन्त्री ओलीले हिजो शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सरकारमा सामेल हुन प्रस्ताव गरेको समाचार बाहिरिएपछि राजनीतिक वृतमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।
समाचार श्रोतहरुका अनुसार सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग साझा सरकारको प्रस्ताव राख्नुभएको छ।
सार्वजनिक भएका समाचारहरुमा ओलीले देउवालाई आठवटा मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गर्नुभएको छ । देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको उच्च राजनीतिक स्रोतलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।
तर विपक्षी दलका नेतासँगको भेटवार्ता स्वभाविक भए पनि सत्ता साझेदारीको प्रस्तावको समाचार सत्य नरहेको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको कुरा बिलकुल गलत रहेको बताउनुभयो ।
तर बालुवाटारमा हिजो प्रधानमन्त्री र प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवाबीच भेट भएको कुरा नेम्वाङले घुमाउरो ढंगले स्वीकार गर्नुभयो । उहाँले सत्तापक्षले प्रतिपक्षसँग छलफल र संवाद गर्नु लोकतान्त्रिक संस्कार रहेको बताउनुभयो।
राजनीतिक संस्कारलाई अपनाउँदै प्रधानमन्त्रीले कांग्रेस सभापतिसँग भेट गरेको कुरालाई अस्वभाविक रुपमा लिन नहुने उहाँले बताउनुभयो ।
नेता नेम्वाङले सत्तापक्षले प्रतिपक्षसँग बेला बेला संवाद नगरेको विषय बरु अचम्मको कुरा हुने बताउनुभयो ।
यता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष पार्टी सरकारमा सहभागी नहुने दाबी गर्नुभएको छ ।
सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएर पार्टी नै विभाजन हुने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पनि शर्माले कांग्रेस सरकारमा सहभागी हुने योजना नभएको दाबी गर्नुभएको हो ।
उहाँले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव दिनुभएको छ।
यसैबीच प्रधानमन्त्रीसँग आफ्ना सभापतिले सत्ता साझेदारीको प्रस्तावबारे छलफल गरेको समाचार बाहिरिएपछि कांग्रेस नेताहरु पनि रणभुल्लमा परेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सत्ता साझेदारीबारे कुरा भएको विषयमा आफूहरुले बुझ्ने प्रयास गरिरहेको बताउनुभयो । तर पाँच वर्ष कांग्रेस सरकारमा जान नहुने जनादेशको पार्टीले अपमान गर्न नहुने उहाँले बताउनुभयो ।
प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव देउवा समक्ष राखेको प्रकाशित समाचारहरुमा उल्लेख छ ।
परिआए पार्टी विभाजन गरेर भए पनि सत्तामा टिकिरहने योजना बमोजिम ओलीले कांग्रेसको सहारा लिन खोजेको विश्लेषण भइरहेको छ । तर नेकपाका प्रभावशाली नेता भीम रावललाई ओलीले पार्टी विभाजन गर्ने कुरामा विश्वास छैन । उहाँले नेपाल कम्युनिष्ट पार्टी फुट्न नसक्ने दाबी गर्नुभयो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको छ । आज दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गर्नुभएको हो ।
सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।