काठमाडौं । सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ ।
आज काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी र निजी दुबैमा बढाउने गरी सरकार अघि बढिरहेको बताउनुभयो । चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने उहाँले विश्वास व्यक्त गर्नुभउको छ । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्धहरू अघि बढाइरहेको मन्त्री पौडेलले बताउनुभयो ।
सरकारीमा पनि तलब बढाउने र निजीमा दिइने पारिश्रमिकले पनि स्वास्थ्यकर्मीहरुलाई नपुग्ने बताउँदै उहाँले कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्ने बताउनुभयो ।
चिकित्सक र नर्सहरुको पारिश्रमिकलाई कडाईका साथ लागू गर्नेगरी अघि बढिरहेको उहाँको भनाई छ । साथै मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको समेत दाबी गर्नुभयो ।