काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभेल अफिसमा शुक्रबार भएको विवादको बिषय यतिखेर विश्वभर नै चर्चामा छ । ट्रम्प र जेलेन्स्कीबीच सौहार्दपूर्ण रुपमा शुरु भएको वार्ता अन्तिमतिर नोकझोकमा परिणत भएको थियो । सो विवादले गर्दा अहिले विश्व राजनीति नै तरंगित भएको छ । र यसबारे विभिन्न खालका टिका टिप्पणी सुरु भएका छन् ।
ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो ।
यो घटनाले युक्रेन–अमेरिका सम्बन्धलाई संकटमा पु¥याएको विश्लेषकहरुले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविराम सम्झौताका लागि अझै कडा मेहनत गर्न आफ्ना शक्तिशाली साझेदार देशका नेताहरूले दिएको सुझाव युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरिदिएका थिए । ट्रम्प र जेलेन्स्कीबीचको वार्ताले ठूलो देशको शैलीबारे प्रष्ट भएको टिप्पणी भईरहेकोे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपतिबीचको असफल बार्तामा दुबै जनाको अभिव्यक्ति उत्तेजित रहेको र अनुभवीहरुबाट त्यस्तो देखिनु सामान्य नभएको टिप्पणी गर्नुहुन्छ ।
ट्रम्प र जेलेन्स्कीबीचको वार्ताले हाम्रो देश नेपालले पनि शिक्षा लिनुपर्ने र पाठ सिक्नुपर्ने कुरा धेरै भएको विश्लेषकहरुको भनाई छ । अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मूल्य मान्यताभित्र बसेर व्यवहार गर्ने भन्ने जुन दोस्रो विश्वयुद्ध पछिको परम्परा थियो, त्यो टुट्दै जान थालेको टिप्पणी पनि भईरहेको छ ।
नेपालको परिपेक्ष्यमा देशको स्वतन्त्रता र सार्वभौमिकतालाई आफ्नो हातभित्र राख्नको लागि सबैभन्दा पहिला यहाँका राजनीतिक शक्तिहरुबीच विश्वासको वातावरण बन्नुपर्नेमा पूर्व परराष्ट्रमन्त्री लोहनीको तर्क छ । राजनीतिक रुपमा हामी सबै शक्तिहरु एक हुनुपर्नेमा लोहनीको जोड छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भएको घटनाले अमेरिका र युरोपबीच स्पष्ट रूपमा दूरी झन् बढाएको छ, जसको असर अमेरिका र युरोपको संयुक्त सैन्य गठबन्धन–नेटोमा समेत पर्ने आँकलन भइरहेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्ता असफल हुनुले खतरा निम्त्याएको टिप्पणी गर्नुहुन्छ । नेता खड्काले यसबाट नेपालले पनि पाठ सिक्नुपर्नेमा जोड दिनुहुन्छ ।
कुनै देशमा भर पर्यो भने त्यसले राष्ट्रलाई कमजोर बनाउँदो रहेछ भन्ने कुरा नेपालले सिक्नुपर्नेमा ढिला भईरहेको विश्लेषण गर्न थालिएको छ । अब नेपालले दीर्घकालीन हित र उन्नतिमा तल्लिन र एकतावद्ध भएर गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने पूर्व परराष्ट्रमन्त्री खड्काको तर्क छ । अव विश्वमा नयाँ क्रम सुरु हुने पनि खड्काको टिप्पणी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भएको घटनाले युक्रेनको वर्तमान अवस्था र केवल उसको लागि मात्र होइन, विश्वका अन्य साना राष्ट्रहरूका लागि पनि ठूलो पाठ हो ।
यदि कुनै देश आफ्नै सुरक्षामा आत्मनिर्भर छैन भने उसले अरू राष्ट्रहरूको स्वार्थअनुसार आफ्नो अस्तित्व जोगाउनु पर्छ । जब कुनै देशले आफ्नै अस्तित्व बचाउन अरूको कृपामा भर पर्नुपर्छ त्यसको अन्तिम अवस्था अपमान नै हो । त्यसैले, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वर्तमान अवस्था देख्दा स्पष्ट हुन्छ, अरूको दासी बनेर बाँच्नुभन्दा आत्मनिर्भर भएर संघर्ष गर्नु उचित हुन्छ ।