काठमाडौं । निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०-८१ वर्षको आय व्यय विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी र नाफामा रहेको पार्टीका रूपमा देखिएको छ । पार्टी सदस्यता शुल्कदेखि जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट लिने लेबीसम्मको हिसाबकिताब राख्दै गत आर्थिक वर्षमा अन्य दलको तुलनामा धेरै नाफा कमाउने दलको रुपमा देखिएको छ ।
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ, भने ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । उक्त आर्थिक वर्षमा एमालेले करिब ७ करोड बचत गरेको छ । एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ खुद आम्दानी गरेको छ ।
संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा एकीकृत समाजवादी र रास्वपाभन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ । उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ, भने खर्च ४ करोड देखाएको छ ।
त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ । माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ हुँदा उसले ५३ हजार घाटाको हिसाब देखाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च ६ करोड ५० लाख देखाएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले गत आर्थिक वर्र्षमा ४ करोड २४ लाख ५३ हजार रुपैयाँ आम्दानी गर्दा ४ करोड ५७ लाख खर्च देखाएको छ । नाफा कमाउन नसकेपनि आम्दानीका हिसावले नेकपा एकीकृत समाजवादी एमालेपछि धेरै आम्दानी गर्ने दल बनेको छ ।
निर्वाचन आयोगमा अनुसार आयोगमा दर्ता भएका दलहरुमध्ये अहिलेसम्म ८८ वटा राजनितिक दलले मात्रै गत आर्थिक वर्षको आम्दानी र खर्चको विवरण बुझाएका छन् ।