Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विवादमा चीन : नेकपामा हस्तक्षेप, कांग्रेससँग झगडा

विवादमा चीन : नेकपामा हस्तक्षेप, कांग्रेससँग झगडा

  • दीपेन्द्र सापकोटा
  • शुक्रवार, मंसिर ५ २०७७

  • 1.6K
    SHARES

  • विवादमा चीन : नेकपामा हस्तक्षेप, कांग्रेससँग झगडा

    काठमाडौं । नेपालमा एउटा आम बुझाइ बिकसित भएको पनि धेरै भइसक्यो । त्यो हो, ‘चीनले नेपालको राजनीतिमा हस्तक्षेप गर्दैन ।’

    तर, यो आमबुझाइ पछिल्लो समयमा गलत प्रमाणित हुँदै गइरहेको छ । किनकि, बिगत पाँच महिनायता चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा देखाएको सक्रियताले यसलाई गलत साबित गरिदिएको हो ।

    नेकपामा आन्तरिक विवाद बढ्दै गएको सन्दर्भमा राजदूत यान्छीले गत असारमा नेकपाका नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित उनकै निवासमा भेटेकी थिइन् । गत वैशाखमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेलामा पनि यान्छीले सक्रियता देखाएकी थिइन् । उनले त्यतिबेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपालसँग भेटवार्ता गरेकी थिइन् । उनको भेटवार्तापछि नेकपा विवाद तत्काललाई शान्त भएको थियो ।

    china vs congrss.jpg

    परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुले चिनियाँ राजदूत यान्छीको नेपाली राजनीतिमा देखिएको सक्रियतालाई हस्तक्षपको रुपमा समेत अर्थ्याए । त्यसपछि भने राजदूत यान्छीको प्रत्यक्ष सक्रियता केही कम भयो । यद्यपि, उनको सक्रियता अदृश्य रुपमा रहिरहेको जानकारहरु बताउँछन् ।

    वाम विश्लेषक डा. सुरेन्द्र केसी पनि पछिल्लोसमय भएको नेकपा विवादमा चीनको संग्लग्नता प्रत्यक्ष रुपमा देखिएको बताउँछन् ।

    ‘पहिले भारतको हस्तक्षेप भए जसरी पछिल्लो समय नेपालमा चीनको हस्तक्षेप बढिरहेको छ । यसो हुनुमा स्वयम् नेकपाका नेताहरुको हात छ’, उनी भन्छन्, पक्कै एउटा हातले मात्र ताली बज्दैन । उनीहरुले ठाउँ नदिएसम्म त चीन पनि त आए होला नि !’

    पञ्चशीलको सिद्धान्तअनुसार भारत र चीनसँग समान दूरीको सम्बन्ध हुनेपर्नेमा नेकपा एकातिर मात्र ढल्किएको र त्यसले भविश्यमा समस्या ल्याउन सक्ने डा. केसीको बुझाइ छ ।

    कांग्रेससँग झगडा

    नेपाली राजनीतिमा चीनको सक्रियता नेकपामा हस्तक्षेपमा मात्र मात्र सीमित रहेन । चीनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग झगडा गर्नसमेत भ्याइसकेको छ ।

    हुम्लाको नाम्खा गाउँपालिका –६ लाप्चास्थित नेपाली भूमिमा छिरेर चीनले नौ वटा ठूला व्यावसायिक भवन निर्माण अन्तिम चरणमा पु¥याएको खबर करिब तीन महिनाअघि बाहिरियो । सोे क्षेत्रमा दुईवटा भवन केही वर्षअघि नै चीनले बनाइसकेको थियो । चीनले संरचना बनेकै ठाउँमा नेपाल र चीनको सीमास्तम्भ (११ नम्बर पिल्लर) रहेको दाबी नेपाली पक्षले राख्यो ।

    china vs congrss.jpg

    कांग्रेस नेता जीवनबहादुर शाहीले अध्ययन टोलीले चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको निश्कर्ष निकाल्दै भूमि फिर्ताका लागि नेपाल सरकारले तत्काल पहल गर्न सिफारिस पनि गरेको थियो ।

    तर, स्थलगत अध्ययन गरेर फर्किएको टोलीको प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्दै सरकारले नेपाली भूमि चिनियाँ पक्षबाट नमिचिएको स्पष्टीकरण दिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो दाबी गरेका हुन् ।

    china vs congrss.jpg

    प्रतिपक्षी कांग्रेसका नेता शाहीले भने चीनले नेपाली भूमि मिचेको प्रतिवेदन पार्टीलाई बुझाएका छन् ।

    नेता शाहीको प्रतिवेदन उल्लेख गर्दै चिनियाँ मुखपत्रको रुपमा रहेको पत्रिका ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखमा कांग्रेसलाई भारतपरस्त पार्टीको रूपमा चित्रित गर्यो । अनि लगत्तै नोभेम्बर १३ मा काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेख्दै शाहीको प्रतिवेदनलाई ‘आधारहीन र झुटो’ भन्दै ‘गैरजिम्मेवार र अमैत्रीपूर्ण’ भएको आरोप लगायो ।

    त्यसलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले चिनियाँ पक्षले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनायो ।
    ‘उक्त प्रतिवेदन सम्बन्धमा चिनियाँ दूतावासको आधारहीन आरोप लामो समयदेखि नेपाली कांग्रेस, चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्व र गरिमाविपरीत छ’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

    कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. मीनेन्द्र रिजालले पनि हुम्लास्थित सीमा विवादबारेको आफ्नो पार्टीको प्रतिवेदनमाथि चिनियाँ पक्षले दिएको प्रतिक्रियाको प्रतिवाद गर्नुभएको छ ।

    china vs congrss.jpg

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा केही दिनअघि नेता डा.रिजालले नेपाल–चीन सीमा विवादका सम्बन्धमा भएको पछिल्लो वाद–प्रतिवाद अस्वाभाविक हुनका साथै जटिल भूराजनीतिक र कूटनीतिक अवस्थाको सङ्केत भएको उल्लेख गरे ।

    ‘सीमा विवादलाई लिएर चिनियाँ दूतावासको आधारहीन आरोप लामो समयदेखि नेपाली काङ्ग्रेस र चिनियाँ सरकार तथा त्यहाँका जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमाविपरीत छ,’ उनले भने ।

    दुई देशबीचको आन्तरिक मामिलामा चीनले भारत र पश्चिमालाई जोड्नु गलत भएको नेता डा. रिजालको ठम्याइ छ ।

    कूटनीतिकमा कस्तो असर पर्ला ?

    कांग्रेस र चीनबीचको विवादलाई कतिपय विश्लेषकले अप्ठ्यारो अवस्थाको रूपमा चित्रण गरेका छन् ।
    राजनीति विश्लेषक प्रा. कृष्ण खनालले चिनियाँ पक्षलाई आफ्नो सीमा ख्याल गर्न र प्रतिपक्षी दल कांग्रेसलाई कूटनीतिक संवेदनशीलताको ख्याल गर्न सुझाव दिएका छन् ।

    प्रा. खनालले ग्लोबल टाइम्सको लेखभन्दा पनि चिनियाँ दूतावास नै अग्रसर भएको चाहिँ अस्वाभाविक र आपत्तिजनक भएको बताए ।

    ‘निश्चय नै कूटनीतिका लागि खराब क्षण हो । प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली कांग्रेसले देशको सीमाबारे आफ्नो सरकारलाई केही भन्नै नपाउने भन्ने हुँदैन’, उनले भने, ‘नेपालभित्र चीनबारे फरक–फरक भनाइ नआओस् भन्ने अपेक्षा नै गलत हो ।’

    प्रा. खनालले चीनको व्यबहार जस्तो भए पनि प्रतिपक्षी दललाई कूटनीतिक संवेदनशीलताको भने ख्याल गर्न सुझाव दिएका छन् ।


    शुक्रवार, मंसिर ५ २०७७०७:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij