काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पद त्याग गर्नुपर्ने बहस निम्तिएको छ ।
यसअघि सहमति उल्लंघनको आरोप लगाउँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पद त्याग गर्नुपर्ने बहस हुँदै आएको थियो ।
तर पछिल्ला दुई सचिवालय बैठक यता प्रचण्डले पनि पार्टीको कार्यकारी अध्यक्षबाट राजीनामा दिनुपर्ने बहस ओली समूहले निम्त्याएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोप पुष्टि नभए प्रचण्डले नैतिकताका आधारमा कार्यकारी अध्यक्षका रुपमा रहन नमिल्ने बताउनुभएको छ ।
यदि आरोप सही भए आफू पदबाट हट्ने अन्यथा आरोप लगाउनेले ठाउँ खाली गर्नेुपर्ने प्रधानमन्त्रीको अडान छ ।
नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमासमेत प्रश्न उठाइएको छ ।
त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको बताउँदै आएका छन् । हिजोको सचिवालय बैठकमा ओलीले आफूमाथि लागेको आरोप सही भए आफू हट्ने अन्यथा आरोप लगाउने अर्का अध्यक्षले हट्नुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आरोपहरु बोकेर कोही पनि व्यक्ति अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न नमिल्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन सिध्याउने गरी आरोपहरु लगाइएको भन्दै त्यसको जवाफ लिखित रुपमा नै दिने बताउनुभएको छ ।
ओली समूहका नेताहरुले पनि आरोप पुष्टि नभए प्रचण्डले पदबाट हट्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । पूर्वमन्त्री समेत रहनुभएका नेकपाका नेता गोकुल बाँस्कोटाले केपी ओलीमाथि लगाइएका आरोप पुष्टि नभए आरोप लगाउनेहरुलाई कारबाही हुनुपर्ने बताउनुभयो ।
तर प्रचण्ड–नेपाल समूहका नेताहरुले भने दुवै अध्यक्षका लिखित प्रस्तावबारे पार्टी कमिटिले निर्णय लिने भएकाले अहिले नै अब के होला भनेर अनुमान गर्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै प्रचण्ड समूहका स्थायी कमिटि सदस्य लिलामणि पोखरेलले कसका आरोप ठिक र कसका बेठिक भन्ने कुराको निष्कर्ष बैठकले निकाल्ने बताउनुभयो ।
यस्तै नेकपाको माधव कुमार नेपाल समूहका नेता रघुजि पन्तले भने सचिवालय बैठक माग गर्दै बुझाइएको पत्रको जवाफ लिखित पेश गरेर प्रधानमन्त्री ओलीले नै गलत गर्नुभएको बताउनुभएको छ ।
यद्यपि अब लिखित जवाफ दिने सिलसिलालाई अन्यथा बुझ्न नहुने उहाँले बताउनुभयो । दुवै अध्यक्षका प्रतिवेदनहरुबारे पार्टीका बैठकले निर्णय लिने उहाँले बताउनुभयो ।
यसैबीच नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको दोहो¥याउनुभएको छ ।
आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रूपमा सचिवालय विकास हुँदै गएको पौडेलको भनाइ छ ।
महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि दोहो¥याउनुभएको छ ।
हिजोको सचिवालय बैठकमा महासचिव पौडेलले जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उहाँले जानकारी दिनुभयो ।