काठमाडौँ । आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम् सरकारी सरह कायम नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले विज्ञप्ति जारी गर्दै स्वास्थ्य र शिक्षामन्त्रीबिच भएको सहमति नमान्ने चेतावनी दिएका हुन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबिच निर्वाह भत्ताका विषयमा सहमति भएको थियो । सो सहमती आफ्ना लागी स्विकार्य नहुने भन्दै उनीहरुले अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतवानी दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको निर्णयले स्वास्थ्य क्षेत्रमा कार्यरत सवै डाक्टरहरुको अपमान भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । पीजी कार्यक्रमहरू पूर्णतया शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिइएको समिति संयोजक डाक्टर शेषराज घिमिरेले बताउनुभयो ।
‘२४ घण्टाभित्रमा हाम्रा माग पुरा गर्ने समय दिएका छौ । उक्त समयमा मागहरु पूरा भएनन् र निर्णयबाट पछाडी नहटेको खण्डमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बहिष्कार गरिन्छ । समितिसँग विगतमा गरेको सम्झौता विपरीत गएको खण्डमा आवासीय चिकित्सकहरूले सशक्त रूपमा प्रतिकार गर्नेछन्,’ घिमिरेले बताउनुभयो ।