काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । फाइनलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै साविक विजेता एपीएफले उपाधि जितेको हो ।
सनिवार भएको फाइनल खेलमा सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले १३ औं ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । एपीएफका लागि ममता चौधरी र कप्तान इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो । मनिषा बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
एपीएफका लागि कविता जोशीले तीन तथा सनम राई र कप्तान इन्दु बर्माले समान दुई दुई विकेट हात पारिन् भने, करुणा भण्डारीले १ विकेट लिइन् । एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले यो पटक गरी महिला पीएम कपको उपाधी सातौंपटक जितेको हो ।