धनुषा । निर्धन संस्थाको आयोजना र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा धनुषाको धनुषाधाममा “व्यावसायिक भैंसी तथा गाई पालन तालिम” सुरु भएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. धनुषाधामका ३१ जना ग्राहक सदस्यहरुको सहभागितामा यहि माघ ८ गतेदेखि तालिम सुरु भएको हो । तालिम माघ १० गतेसम्म चल्नेछ ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी धनुषाधाम न.पा.३ का वडा अध्यक्ष जय नारायण यादव, विशिष्ट अतिथी निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्त र निर्धन संस्थाका कार्यकारी अधिकृत अञ्जु पाण्डे रहनुभएको थियो ।
कार्यक्रममा निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्तले ब्यवसायिक परियोजना तथा वित्तीय साक्षरता सम्वन्धी पुस्तक अध्यक्ष जय नारायण यादवलाई प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथी यादवले आफ्नो मन्तव्य मार्फत संस्थाद्धारा संचालित सीप विकास तालिमले जनसमुदायमा सचेतना वृद्धि गर्ने बताउनुभयो ।
“जनसमुदायले जिविकोपार्जनको लागि पशुपालन गर्ने गरेका छन्, उनीहरुलाई पशु बिरामी पर्दा के कस्तो किसिमको हेरचाह तथा स्वास्थ्य उपचार चाहिन्छ सोको बारेमा विशेष जानकारी नभएको र पशु विशेषज्ञ उपचार गर्न जाँदा समेत उपचार गर्न अग्रसर नभएको देखिन्छन् । त्यसैले हरेक गाँउ समुदायमा यस किसिमको तालिम प्रदान गर्न सकेमा पशुपालन व्यवसायमा ठूलो परिवर्तन हुने तथा स्थानियको आय बृद्धि हुने छ ”उहाँको भनाई छ ।
त्यसै गरी कार्यक्रमका विशष्ट अतिथी जनार्दन देव पन्तले तालिममा उपस्थित सहभागीहरुलाई आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पु¥याउनु नै महत्वपूर्ण हुने र सोका लागि सीप विकास तालिम अति नै आवश्यक भएको बताउनु भयो ।
पन्तले हाल ग्राहक सदस्यहरुले जिविकोपार्जनको हिसाबले १–२ वटा भैंसी तथा गाई पालन गरेर आफ्नो जिविको पार्जन गर्ने गरेकोमा सीप विकास सम्बन्धी व्यवसायिक शिक्षा लिई यसैलाई व्यवसाय बनाउन सकेमा वैदेशिक रोजगारीमा समेत जान नपर्ने समेत बताउनुभयो ।
“उदाहरण स्वरुप १ वटा मुर्रा भैंसी पालन गरेर दैनिक सरदर १० लि. दुध रु. १०० का दरले बिक्री गर्दा वार्षिक रु.१ लाख ७० हजार कमाउन सकिन्छ भने १० वटा पालन गर्ने हो रु. १७ लाख सम्म आम्दानी गर्न सकिन्छ जुन कार्य हामी परिवार संगै बसेर आफ्नै देशमा कमाउन सक्छौं ”पन्तले भन्नुभयो ।
उहाँले मेरुदण्डका रुपमा रहेका सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनिहरुको क्षमता अनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥याई उत्पादनमा प्रति इकाइ लागत कम गरी उत्पादकत्व बढाउदैं सानाबाट मझौला हुँदा ठूला लघुउद्यमी÷व्यवसायी बनाउने उद्धेश्य अनुरुप उन्मुख भई उहाँहरुलाई आवश्यकता अनुसार सीप बिकास, उद्यमशिलता बिकास तालिमहरु प्रदान गरिरहेका बताउनुभयो ।
त्यसै गरी निर्धन संस्थाका कार्यकारी अधिकृत अञ्जु पाण्डेले आफ्नो मन्तव्यमा तालिममा उपस्थिती सहभागीहरुले पशुपालन निर्वाहमुखी रुपमा गर्दै आईरहेकोमा संस्थाद्धारा प्रदान गरेको तालिमको माध्यमबाट सीप तथा ज्ञान हासिल गरी निर्वाहमुखीबाट व्यवसायिक रुपमा पशुपालन गरी लघुउद्यमी बन्न प्रेरणा दिनुभयो साथै सोको लागि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले समेत वित्तिय सहयोग गर्ने बताउनुभयो ।
सहभागीहरुको तर्फबाट शुसिला कुमारी सिंहले कार्यक्रमको सभापतित्व गर्नु भयो । त्यसै गरी निर्धन उत्थान ल.वि.सं.लि.का क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत प्रदिप कुमार दास र शाखा कार्यालयका प्रमुख दुर्गानन्द कुमार दासको उपस्थिती रहेको थियो ।
तालिममा प्रशिक्षकका रुपमा धनुषाधाम नगरपालिकाका पशु प्रमुख विष्णु देव यादव र प्राविधिक विरेन्द्र कुमार यादवले ३ दिन सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ । आयोजकका तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनाजोले तालिममा सहजीकरण गर्नुहुनेछ ।
