काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिनुभएको छ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानुन बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो।
परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो। उहाँले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरुलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिनुभयो । साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।