काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा। बदर अब्देल–अतिसँग फोनवार्ता गर्नुभएको छ ।
इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ ।
परराष्ट्रमन्त्री राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा ।अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आग्रह गर्नुभएको हो ।
आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेको उहाँको सचिवालयले जनाएको छ।
फोनवार्ताका क्रममा मन्त्री राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिनुभएको थियो। त्यसैगरी इजिप्टका विदेशमन्त्री डा।अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताउनुभएको थियो ।
इजरायल सरकार र हमासबीच युद्धविरामको छलफल भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आउनुभएको छ ।
केही दिनमात्र अघि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा। मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।