काठमाडौं। गाजामा इजरायल र हमासबिच युद्धविराम सुरु भएको छ। पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो।
सो सम्झौता आज आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो गरी युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो। युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन–ग्विरले राजीनामा दिएका छन्।
उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले पनि आज बिहान राजीनामा दिएका छन्। उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन्।
उनले राजीनमा पेस गर्दै युद्धविराम सम्झौतालाई आतंकवादको पूर्ण विजयको संज्ञा दिएका छन्। यद्यपि उनले सरकार ढाल्न भूमिका भने नखेल्ने स्पष्ट पारेका छन्।
यसैबिच, हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ। यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश छन् ।
कान्छा बन्धकमा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास रहेका छन्। त्यस्तै पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर रहेका छन्। उनलाई पनि पहिलो चरणमा रिहा गरिने अपेक्षा गरिएको छ।
इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको छ। हमासले युद्धविराम सम्झौता अन्तर्गत ३ जना इजरायली बन्धकको नाम सार्वजनिक गरेसँगै इजरायलले आफ्ना थप ३३ जना नागरिकको नाम सार्वजनिक गरेको हो ।