काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकार गठनको ६ महिनामा सरकारले धेरै कामहरु गरेको दाबी गर्नुभएको छ । विकास निर्माणका काममध्ये सडकका कामहरु भइरहेको बताउँदै उहाँले पहिलेको तुलनामा सडकहरु सहज बन्दै गइरहेको स्पष्ट पार्नुभयो ।
यस्तै ६ महिना थोरै समय भएकाले अहिले नै केहि गरेन भनेर भनिहाल्नुपर्ने अवस्था नभएको र सरकारले जुन गतिमा काम गरिरहेको छ त्यसमा सल्लाह र साथ दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री दाहालले कतिपय कानुनी अड्चनहरु भएका कारणले सरकारले कानुनलाई शंसोधन गर्ने अध्यादेश ल्याएर केहि सहज बनाएको र लगानीको वातावरण सिर्जना भएको दाबी गर्नुभयो ।
यस्तै वर्तमान सरकार असफल भयो, अब छिट्टै फुटछ भन्ने लगायत बाहिर आइरहेका सबै कुराहरु हल्लाहरुमात्रै भएकाले यो सरकार आगामी ०८४ सम्मै रहनेमा कुनै शंका नरहेको समेत उहाँको भनाइ छ ।
पछिल्लो समय प्रतिपक्ष दलका नेताहरुले सरकार ढल्छ, सत्तापक्षकै नेता मन्त्रीबीच दरार भन्ने लगायतका दाबी गर्दै आइरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय हरेक जसो सार्वज्निक कार्यक्रममा सरकारको आयू धेरै छैन, यो सरकार अप्राकृतिक भन्दै टिप्पणी गर्दै आउनुभएको छ भने सरकार ढल्ने मिती नै भन्न सक्ने बताइरहनुभएको छ ।
तर नेता दाहालले भने प्रचण्डले सरकार बाहिर रहनुपरेको पिडा पोखेको बाहेक अरु नभएको स्पष्ट पार्नुभएको छ ।