काठमाडौं । चिकित्सकको सिफारिस विना र मनलाग्दी औषधि नकिन्न औषधि व्यवस्था विभागले आम उपभोक्तालाई आह्वान गरेको छ। विभागका महानिर्देशक डा. नारायण ढकालले विना दर्ता र विना सिफारिसका औषधि विक्रि वितरणको विरुद्ध उजुरी दिन सबैलाई अनुरोध पनि गर्नुभएको छ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. ढकालले गैरकानूनी औषधि कारोबार नियन्त्रणका लागि आम नागरिकको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै कुनै पनि प्रकारको अनियमितता बारे जानकारी दिन आग्रह गर्नुभएको छ।
डा। ढकालका अनुसार प्रतिबन्धित औषधि कारोबार रोक्न सरकारले तीव्र रुपमा अनुगमन तथा कारवाही अभियान चलाएको छ। “हामी क्षमताले भ्याएसम्म अनुगमन र कारवाही गरिरहेका छौं। स्थानीय निकायहरूले पनि यस विषयमा बढी ध्यान दिन जरुरी छ,” उहाँले भन्नुभयो।
प्रतिबन्धित औषधिको कारोबार नियन्त्रणका लागि सचेतना अभियान चलाउनु नै सबैभन्दा बढी प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । नागरिक स्तरमा चेतना फैलाउने प्रयासले गैरकानूनी कारोबारलाई नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
सरकार, स्थानीय निकाय र आम नागरिकको सामूहिक प्रयासले औषधि क्षेत्रमा भएको अनियमितता नियन्त्रण गर्न सकिनेमा उहाँको जोड छ ।