काठमाडौं । काठमाडौं महानगरपालिकाको रोकावटका बावजुद खुलामञ्चमा खाना खुवाउने अभियानलाई निरन्तरता दिइएको छ । महानगरले आजदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ ।
कोरोना भाइरस (कोभिड -१९) संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएको भए पनि मानिसहरु आउनेक्रम नरोकिएपछि खाना खुवाउन बाध्य भइएको हाम्रोे टिम नेपालले जनाएको छ ।
‘आएर खाना आन लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएका छौं’, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले भन्नुभयो ।
महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा नभई अन्य कुनै ठाउँमा व्यवस्थित खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो । सोहीअनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए ।
हाम्रो टिम नेपालले लकडाउन भएपछि खान खान नपाएर समस्यामा परकाहरुलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ । सुरुमा काठमाडौंका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको छ ।
तर अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ ।