काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बितप्रति रास्वपा नेता गणेश पराजुलीले आपत्ति जनाउनुभएको छ ।
सदनको गरिमा बचाउने मुख्य जिम्मेवारी पाउनुभएका सभामुखले सरकारको छाँयामा परेर, सरकारले साधेको राजनीतिक प्रतिशोधलाई सघाउँने गरि, कानुनलाई लत्याउँदै कानुनविपरित लामिछानेको संसद पदलाई निलम्वन गरेको सुचना जारी गरेको नेता पराजुलीले आरोप लगाउनुएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पराजुलीले लामिछानेको निलम्बन कानुनतः अवैधानिक भएको जिकिर गर्नुभयो । सभामुख देवराज घिमिरेले संविधान र कानुन लत्याएको समेत उहाँको आरोप रहेको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।
उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र जारी गर्नुभएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।
यता रास्वपाका नेताहरुले भने सभामुखको यो कदम अवैधानिक र कानुनविपरित भएको भन्दै टिप्पणी गरेका छन् । संसदको गरिमा गिराउनलाई सभामुखले गरेको यो कदम इतिहासको कालो दिनका रुपमा रहने नेता पराजुलीको भनाइ छ ।
यस्तै सभामुख घिमिरेले यसको मूल्य कुनै पनि हालतमा चुकाउनुपर्नेसमेत नेता पराजुलीको चेतावनी रहेको छ ।