काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको छ ।आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई अन्तिम ओभर बाँकी हुँदा २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
अब फाइनलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ। जारी प्रतियोगतामा यो जनकपुर र सुदूरपश्चिमबीच तेस्रो भिडन्तका रुपमा रहनेछ।दबाबमा रहेको जनकपुरलाई जिमी निसमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाउँदै खेलमा फर्काएका थिए।
तर, निसम आउट भएपछि दबाबमा देखिएको जनकपुरले मयन यादवको १४ रन र शेर मल्लको अविजित १६ रनको इनिङ्समा अन्तिम ६ बल बाँकी हुँदै जित आत्मासाथ ग¥यो। त्यसअघि ११९ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि आकाश त्रिपाठीले १३ रन बनाउँदा हर्ष थकरले १७ रन बनाएका थिए।
अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।कर्णालीका लागि ट्यालेन्ट हन्टबाट आएका युवा स्टार विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएर टिमलाई खेलमा कायम राखेका थिए।त्यस्तै, सोमपाल कामी, विलियम बोसिस्टो र जेसन मक्सुदले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो।कर्णालीका लागि गुल्सन झाले २५ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक देव खनाल २४ रन बनाउँदा जिसन मक्सुद र युनिस ठकुरीले १२–१२ रन बनाए।
त्यस्तै, विलिय बासिस्टो १४ रनमा आउट हुँदा चाडविक वाल्ट ११ रनमा पेभिलियन फर्किएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले समान २ विकेट लिँदा हर्ष थकर, जिमी निसम र शेर मल्लले समान १ विकेट लिए।