काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको पाँच महिना पुरा भएको छ । सबैभन्दा पहिले आर्थिक पक्ष सुधार्ने नयाँ सरकारको प्रतिज्ञा थियो ।
तर, सरकारले भनेजस्तो प्रगति अर्थतन्त्रमा हुन सकिरहेको छैन । सुधारका संकेत देखिए पनि भनेजस्तो प्रगति हुन नसकेको हो ।
लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसक्ने सरकारले बताउँदै आएको छ । त्यसका लागि केही समय लाग्ने र निरन्तर प्रयासमा रहेको सरकारको दाबी छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको स्वीकार गर्नुभएको छ ।
अर्थतन्त्रका केही पक्षहरू राम्रा भएको सरकारको भनाई छ । विदेशी मुद्राको सञ्चिति राम्रो भएको, ब्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो भएको दाबी सरकारको छ ।
राजश्वको लक्ष्य पूरा गर्न सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको पनि जनाएको छ ।
राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा प्रतिपक्षी दलको सुझाव छ । अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा पूर्वअर्थमन्त्री बर्षमान पुनले सुझाव दिनुहुन्छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मेहनत रहेको दाबी गरिरहनुहुन्छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने अर्थतन्त्रमा सुधारका संकेत देखा परेको बताउनुहुन्छ । पुरानै बजेटमा बसेर काम गर्नुपरेको र वित्त नीतिमा परिवर्तन नभएकाले आर्थिक सुधार हुन नसकेको तर्क उहाँको छ । कांग्रेस एमालेको सरकारमा अर्थतन्त्र सुधार किन हुन सकिरहेको छैन? भन्ने हाम्रो प्रश्नमा उहाँले दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई शीर्षमा राखेर जानुपर्ने नीतिलाई लागू गर्नुपर्नेमा पनि जोड दिइएको छ । मुलुकमा अहिले विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ ।
चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ विदेशी सञ्चिति थियो ।