Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसमा निर्मित कोरोना विरुद्धको खोपको उत्साहजनक नतिजा, ९२ प्रतिशत प्रभावकारी भएको दाबी

रुसमा निर्मित कोरोना विरुद्धको खोपको उत्साहजनक नतिजा, ९२ प्रतिशत प्रभावकारी भएको दाबी

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.1K
    SHARES

  • रुसमा निर्मित कोरोना विरुद्धको खोपको उत्साहजनक नतिजा, ९२ प्रतिशत प्रभावकारी भएको दाबी

    एजेन्सी । रुसमा निर्मित कोरोना विरुद्धको खोपको ट्रायलबाट प्राप्त प्रारम्भिक नतिजाले यसलाई ९२ प्रतिशत प्रभावकारी देखाएको छ । १६ हजार स्वयमसेवकहरुलाई ‘स्पट्निक भी’ खोप लगाएको डाटाका आधारमा नतिजा सार्वजानिक गरिएको हो । यसबारे कति वैज्ञानिकहरुले खुसी जनाएका छन् भने कतिले चाहिँ डाटा निकाल्नमा हतार गरिएको बताएका छन् । 

    केही दिन अगाडि अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेक कम्पनीले ४३ हजार मानिसमा गरिएको अध्ययन एवम् परीक्षणपछि खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएको थियो । तर, स्पट्निको डाटा तुलनात्मक रुपमा थोरै मानिसमा आधारित भएपनि प्रारम्भिक रिसर्चको नतिजा भने उत्साहजनक मानिएको छ । यो खोप मस्काउस्थित ‘नेस्नल रिसर्च सेन्टर फर एपिडेमिओलोजी एण्ड माइक्रोबायोलोजी’ले तयार गरेको हो र हाल बेलारुस, यूएई, भारत र भेनेजुएलामा तेस्रो चरणको क्लिनिकल ट्रायल सञ्चालन गरिरहेको छ ।

     

    अहिलेसम्म स्पट्निकले सुरक्षा सम्बन्धी कुनै समस्या देखाएको छैन । रुसी अनुसन्धानकर्ताका अनुसार स्वयमसेवकहरुले दुईमध्ये खोपको पहिलो डोज लगाएको २१ दिनसम्म कुनै गम्भीर प्रतिक्रिया अथवा साइड इफेक्ट देखिएका छैन ।   

    तर, फाइजर जसरी नै यसको पनि पूरा डाटा संकलन भएपछि मात्र आधिकारिक मान्यता दिन सकिने बताइएको छ । फाइजर र स्पट्निक दुवै खोपले दुई महत्वपूर्ण प्रश्नको उत्तर दिन सकेका छैनन् । के यसले वृद्धहरुमा पनि प्रभावकारी रुपमा काम गर्नेछ जो सबैभन्दा बढी कोरोनाको जोखिममा हुन्छन् ? यसबाट प्राप्त सुरक्षा कति समयसम्म रहन सक्छ ? 

    रुसी वैज्ञानिकहरुले यस सम्बन्धी सबै तथ्यांकहरु प्रमुख अन्तराष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित गरिने बताएका छन् । यदि सबै तथ्यांक सकारात्मक देखिए भाइरस विरुद्ध मानिसहरुलाई बचाउने एकभन्दा बढी उपाय निश्चित हुनेछ । 

    हाल विश्वव्यापी रुपमा सयौँ खोपहरु निर्माण प्रक्रियामै छन् । केही दर्जन परीक्षणको अन्तिम चरणमा पुगेका छन् जसमध्ये स्पट्निक, अक्सफोर्ड खोप र फाइजर रहेका छन् । फाइजर खोपले कोरोना भाइरसको केही हिस्सा, जेनेटिक कोड शरीरमा प्रवेश गराई प्रतिरोधात्मक प्रणालीलाई अभ्यास गराउँछ भने अन्य दुई खोपले चाहिँ कोरोना भाइरससँग मिल्दोजुल्दो अन्य हानीरहित भाइरसलाई परिमार्जित गरि त्यसको प्रयोग गरिरहेका छन् । सबै खोपका दुई डोज नै आवश्यक पर्ने बताइएको छ । 

    तर, स्पट्निकको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई फाइजर जसरी माइनस ८० डिग्रीको अत्यन्तै कम तापमानमा स्टोर गरि राख्नुपर्ने छैन । 

    मस्काउको गमेलिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर गिन्टसबर्गले बताए अनुसार स्पट्निक भी छिट्टै ठूलो जनसङ्ख्या माझ उपलब्ध हुनेछ जसले पहिले रुसमा कोरोना संक्रमणको दर नियन्त्रण गर्नेछ भने पछि विश्वव्यापी प्रयोगमा आउनेछ । 

    यसबारे इम्पेरियल कलेज लन्डनका प्रोफेसर चाल्स बनगमले, यो नतिजाले कोभिड–१९ विरुद्ध प्रभावकारी खोप निर्माण गर्न सम्भव रहेकाबारे अझ बढी सुनिश्चितता दिलाएको बताएका छन् । तर, अझैपनि फाइजार र स्पट्निक दुवै खोपको सुरक्षा र प्रभावकारीताबारे पूर्ण मूल्यांकन आवश्यक रहेको बताए । 

    ‘युनिभर्सिटी अफ एडिनबर्ग’ का प्रोफेसर इलेनर रिलेले चाहिँ हतारिएर डाटा निकालेकाबारे चिन्ता व्यक्त गर्दै भनेका छन्, “यो कुनै प्रतिस्पर्धा होइन । हामीले सम्भव भएसम्मका उच्च स्तरमा ट्रायल सञ्चालन गर्नुपर्ने हुन्छ ।”

    हाल रिसर्चरहरुको अनुमानमा स्पट्निक भी को ५० वटाभन्दा बढी देशबाट १.२ अर्ब डोजको माग आइसकेको छ । र, उनीहरुले विश्वव्यापी बजारका लागि प्रत्येक वर्ष ५० करोड डोजसम्म उत्पादन गर्न सक्ने दाबी गरेका छन् । बीबीबी । 
     


    बिहिवार, कार्तिक २७ २०७७०७:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij