काठमाडौं । संक्रामक रोग विशेषज्ञका अनुसार अहिले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा डेंगु संक्रमितको भिड बढ्दो छ ।सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पूर्वतयारीको अभावमा डेङ्गुले देश नै ढाकेको बताउनुहुन्छ । डा. पुनले स्थानीय सरकार र जनता लामखुट्टे नियन्त्रणमा चुकेको बताउनुहुन्छ । लामखुट्टे नियन्त्रण नगर्ने हो भने यो समस्या आउँछ भन्ने पूर्वानुमान हुँदाहुँदै पनि सरकारले काम गर्न नसकेको उहाँको भनाई छ ।
डेङ्गी नियन्त्रणका लागि तीनै तहको सरकारबीच राम्रो समन्वय हुन आवश्यक रहेको उहाँको भनाई छ । साथै, आम नागरिक पनि सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो। डा. पुनले अहिले समुदायमा डेङ्गी संक्रमितको अवस्था एकदमै डरलाग्दो रहेको पनि बताउनुभयो। डेङ्गु प्रत्येक वर्ष कडा स्वरूपमा देखा परिरहेको छ। डा. पुनले अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा डेङ्गु नियन्त्रणका लागि आगामी वर्ष सहज नरहेको बताउनुहुन्छ ।
पछिल्लो समय डेंगुको शंका लागेर जाँच गराउन वा उपचारका लागि अस्पताल आउनेहरू बढी देखिएका छन् । ‘हामी नेपालीको प्रवृत्ति कस्तो छ भने निकै दुःख दिएपछि वा सहनै नसक्ने भएपछि मात्र अस्पताल जाने’ उहाँ बताउनुहुन्छ । डेंगु संक्रमितको एउटा प्रवृत्तिलाई उनले ‘वाकिङ डेंगु’ नाम दिएका छन् । यो भनेको डेंगुको लक्षण बोकेरै हिँड्नेहरू । खासगरी दसैँ जस्तो चाडपर्वमा मान्छेहरू यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरू सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँडडुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरू अस्पताल पुग्दैनन् ।
बाईट पुन ३
डा. पुन भन्नुहुन्छ, ‘यतिबेला गरिने कतिपय गल्तीले ठूलो जोखिम पनि निम्त्याउन सक्छ ।’ त्यसैले डेंगुको लक्षण देखिएमा सतर्क रहन उनको सुझाव छ । खासगरी डेंगुको केही लक्षणलाई संवेदनशील श्रेणीमा राखिएको छ । यसलाई ‘डेंगु वार्निङ टाइम’ भनिन्छ । लगातार बान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक वा गिजाबाट रगत बग्नु । यो सामान्यतः बाहिरी अवस्थामा देखिने गम्भीर लक्षण हुन् ।
रगत परीक्षण गर्दा प्लेटलेटको संख्या संख्या घटेको देखिनु, हेमेटोमा बढेको देखिनु, कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको देखिनु यी स्वास्थ्य परीक्षणका क्रममा देखिने नतिजा हुन् । दीर्घरोगी जस्तै उच्च रक्तचाप, मधुमेह र फोक्सो वा श्वासप्रश्वासको समस्या भएकाहरू (यो विगतका तथ्यांकको आधारमा देखिएका नतिजा हुन् ।)
डा. पुन भन्नुहुन्छ, ‘यी अवस्था र स्थितिमा रहेकालाई हामीले डेंगु वार्निङ टाइम भन्छौं, जुन निकै संवेदनशील अवस्था हो ।’ यस अवस्थामा तुरुन्तै अस्पताल जानु वा चिकित्सकको निगरानीमा बस्नुपर्ने उहाँको सुझाव छ । सकेसम्म सुविधायुक्त अस्पतालमा नै जानु उपयुक्त हुन्छ । डेंगु लाग्नसाथ अस्पताल जाने वा नजाने ? धेरैमा द्विविधा छ । खासमा डेंगुको कुनै निश्चित उपचार छैन । वा त्यसको खोप हामीकहाँ उपलब्ध छैन, औषधि छैन ।
यस्तोमा डेंगु लागिसकेपछि लक्षण हेरेर उपचार गरिन्छ । डेंगुको कारण कहाँ, कस्तो समस्या ल्याउँछ त्यही अनुसार उपचार गरिन्छ । र, बुझ्नैपर्ने कुरा के भने डेंगु लागेकामध्ये अधिकांश ८–१० दिनमा निको हुन्छन् । उनीहरूको जिउ दुख्ने, पेट दुख्ने लगायत समस्याहरू चाहिँ हुन्छ, तर त्यो क्रमशः आफै ठिक हुन्छ । तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयलाई डेंगु भएमा ज्यानै जाने जोखिम हुन्छ ।खानामा अरुचि, उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने जस्ता लक्षणलाई डेंगुको शंका गर्न सकिन्छ । यस्तो लक्षण देखिएमा स्वास्थ्य जाँच गरेर डेंगु हो वा होइन भनी टुंगो गर्न सकिन्छ । यदि डेंगु भएमा लक्षण अनुसार उपचार गरिन्छ वा गराइन्छ ।
सामान्यतः डेंगु हुँदा असाध्यै शरीर दुख्ने भएकाले सिटामोल खान दिइन्छ । यद्यपि अन्य औषधि आफूखुसी खान हुँदैन । दुखाई कम गर्न कतिले पेनकिलर खाने गर्छन्, जो चिकित्सकको सल्लाह बिना खानै हुँदैन ।